काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गरेकी छिन् ।
शनिबार बिहान भएको खेलमा सावित्रासम्मिलित विलिंघटन फिनिक्सले सानदार जित निकाल्ने क्रममा सिड्नी एफसीलाई ७–० ले हरायो ।
प्रभावशाली प्रदर्शन गरेकी सावित्राले एक्लै दुई गोल गरिन् । ग्रेस जेलको नाममा पनि दुई गोल रह्यो । मानाइ इलिओटले एक गोल थपिन् । विलिंघनले दुई आत्माघाति गोल पायो । टोरी टुमेथ र सारा हुन्टरले आत्माघाति गोल गरेका हुन् ।

फ्रान्सको फ्रेन्च लिगपछि न्युजिल्यान्डको क्लबबाट खेलिरहेकी सावित्राले छैटौं खेलमा गोलको खाता खोलेकी हुन् । न्युजिल्यान्डको विलिंघटनले अस्ट्रेलियाको लिग खेल्दै आएको छ ।
टोलीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको थियो । इलिओटले तेस्रो मिनेटमै अग्रता दिलाएकी थिइन् । दश मिनेटपछि सानदार हेडरद्वारा सावित्राले टोलीको अग्रता २–० को बनाएकी हुन् । जेलले ३६आंैं मिनेटमा गोल गर्दा पहिलो हाफमै टोलीले तेस्रो गोल गरेको थियो ।
जेलले ५४औं मिनेटमा टोलीको लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरिन् । ६९औं मिनेटमा सावित्राले पनि व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । ८०औं मिनेटमा टुमेथ र ९०औं मिनेटमा हुन्टरले गोल गरेपछि विलिंघटन ७–० को फराकिलो जित निकाल्न सफल भएको थियो ।

लिगमा दोस्रो जित निकालेपछि विलिंघटन ८ अंकसहित सातौं स्थानमा उक्लिएको छ । हारपछि पनि ९ अंक रहेको सिड्नी छैटौं स्थानमा छ । ८ खेलमा अपराजित रहेको मेलबर्न भिक्टोरी १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिरे सावित्राले पहिलो पटक ए लिग खेलिरहेकी छिन् । उनी जागिरे एपिएफ क्लबले आज नै साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि भारतको सेथु एफसीसँग खेल्दैछ । खेल अपराह्न ५ बजे दशरथ र्रगशालामा हुँदैछ ।
