काठमाडौं । काठमाडौं जिल्ला फुटबल संघका सदस्य गौरव थापालाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
थापालाई फुटबल गतिविधिमा सहभागी हुन नदिने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयलाई उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र प्रकाश खरेलको संयुक्त इजलासले खारेज गरेको छ ।
आदेशमा भनिएको छ, ‘निवेदक (गौरव थापा)लाई विधानको कुन धाराबमोजिमको कारबाही गरेको हो, उक्त निर्णयमा उल्लेख गरेको देखिँदैन। साथै, गौरव थापाविरुद्ध फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफा (जसको अन्तर्गतमा एन्फा रहेको छ) वा सोअन्तर्गतको कुनै समिति र निकायबाट कुनै पनि प्रकारको कारबाही भएको भन्ने देखिएको छैन । निवेदकलाई सदाचार समिति र अनुशासन समितिले कारबाहीको निर्णय गर्दा कारबाही गर्नुभन्दा अगाडि जानकारी दिएको र सफाइको लागि मौका दिएको भन्ने पनि देखिँदैन,’ अदालतको आदेशमा भनिएको छ ।
अदालतको आदेशमा थप प्रष्ट पारिएको छ, ‘एन्फा विधानको धारा ७२ मा अनुशासन समिति र धारा ७३ मा सदाचार समितिको व्यवस्था रहेकोमा अनुशासन समिति र सदाचार समितिका कार्यहरु एन्फाको आचारसंहिताले निर्देशित गरेबमोजिम हुने र कार्यसमितिले एन्फाको आचारसंहितालाई जारी गर्नेछ भन्ने उल्लेख भएकोमा एन्फाले उपयुक्तबमोजिमका संहिताहरू निर्माण गरेको भन्ने लिखित जवाफसमेतबाट देखिएको छैन। अतः निवेदकलाई फिफा र एएफसीबाट कुनै कारबाही भए गरेको नदेखिएको र निजको विरुद्धमा उक्त संस्थामा उजुरीसमेत परेको नदेखिएको अवस्थामा यी रिट निवेदकलाई प्रचलित कानुन, फिफाको नियम एवं एन्फाको विधानबमोजिमबाहेक फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारबाही नगर्नू-नगराउनू भनी अखिल नेपाल फुटबल संघसमेतका नाममा उपयुक्त आदेशसम्म जारी गरिदिइएको छ ।’
एन्फा पूर्व अध्यक्ष गणेश थापाको छोरा गौरवलाई गत वैशाख ४ गते एन्फा अनुशासन समितिले फुटबल गतिविधिमा सहभागी हुन नपाउने निर्णय गरेको थियो । गत १६ वैशाखमा एन्फाको सदाचार समितिले पनि अनुशासन समितिकै निर्णयलाई स्वागत गरेपछि थापा अदालत गएका थिए । थापाले सामाजिक संञ्जालमार्फत अदालतको आदेश स्वागतयोग्य भएको धारणा राखेका छन् ।
