काठमाडौं । यही पुस २५ गते हुने भनिएको राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहभागी १७ क्लब र एन्फाबीच भएको बैठकबाट विजेता टोलीले ५० लाख रुपैयाँ पाउने सहमति भएको हो ।
तीन महिनासम्म चल्ने प्रतियोगिताको उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै एन्फाले सहभागी टोलीलाई तयारीस्वरुप १३ लाख ५० हजार दिने भएको छ । बैठकको सहमति अनुसार एन्फाले उक्त रकम पुस १४ भित्र दिइसक्नुपर्ने मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठले खेलाडी डटकमलाई जानकारी गराए । श्रेष्ठ पुरस्कार रकमलाई लिएर असन्तुष्टि पनि पोखेका छन् ।
‘तीन महिनासम्म चल्ने प्रतियोगितामा क्लबहरुले जित्नैका लागि खेल्ने हो भने ३०–३५ लाख खर्च हुन्छ । यति थोरै पुरस्कार रकमले हामीलाई खेलाडी पाल्न र अरु खर्च टार्न नै गाह्रो हुन्छ,’ श्रेष्ठले भने ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।
तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ ।
एन्फाले यसका लागि सोमबारसम्म टिम दर्ता फारम खुला गरेको थियो ।
