काठमाडौं । यही मसिंर १९ देखि पौष ५ गतेसम्म काठमाडौंमा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) क्लब महिला च्याम्पियनसिपको टिकट दर तोकिएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलनमार्फत टिकट दर र अन्य प्राविधिक विषयका बारेमा जानकारी गरायो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ कायम गरिएको छ । टिकट डिजिटल वालेट– खल्तीबाट किन्न सकिनेछ ।
प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रा.लि.लाई प्रदान गरिएको छ । त्यस्तै मुखय प्रायोजनमा भात्सल्या नेचुरल आइभिएफ र सह-प्रायोजक एक्सिट्रम ड्रिन्क्स छन् । एन्फाले सम्झौता रकम भने खुलाएको छैन ।
प्रतियोगितामा नेपालको एपिएफ क्लब, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नास्रिन स्पोर्टस एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगितामा श्रीलंका र माल्दिभ्सको प्रतिनिधित्व भने रहने छैन ।
सिंगल राउन्ड रोविन प्रतिस्पर्धापछि अंकतालिकाको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने समीकरण छ । प्रतियोगिताको विजेताले १० र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । अन्य तीन टोलीलाई दुई हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जानकारी गरायो ।
प्रतियोगिताको अनुमानित बजेट तीन करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ छ ।
