काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग सकिएको एक महिनापछि तीन वर्षयता हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको छ ।
सोमबार सातदोबाटोस्थित मुख्यालयमा एन्फाले पत्रकार सम्मेलनमार्फत शीर्ष डिभिजन लिगका लागि जानकारी गराएको हो । एन्फाले यही पुस २५ गतेबाट राष्ट्रिय लिग आयोजना गर्ने तयारी थालेको छ । राष्ट्रिय लिग सकिएको एक महिनाभित्र नै ‘ए’ डिभिजन लिग सञ्चालन गरिने एन्फाले जानकारी गरायो ।
राष्ट्रिय लिगलाई एन्फाले ‘ए’ डिभिजनको प्रि–सिजनका रुपमा लिएको छ । एन्फाले यसैकारण राष्ट्रिय लिगमा टोलीहरुको संख्या बढाउने भएको छ । यसअघि १० टोलीको सहभागिता रहने भनिएको प्रतियोगितामा अब बढीमा १८ टोली हुनेछन् । यसअघि पछिल्लोपटक आयोजना भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ र प्रेसिडेन्ट लिगका ४ गरि कूल १० टोलीको सहभागिता रहने बताइएको थियो ।
‘सुरुमा हामी राष्ट्रिय लिग सक्काउँछौं । त्यसको एक महिनाभित्र नै ‘ए’ डिभिजन लिग गर्छौँ । राष्ट्रिय लिग चलिरहँदा नै ‘ए’ डिभिजन लिगको तयारी गरिरहेका हुनेछौं,’ महासचिव किरण राई भन्छन्,‘राष्ट्रिय लिगका लागि शीर्ष डिभिजनका अन्य टोली पनि इच्छुक देखिएका छन् । त्यसैले हामी टोली बढाउने निर्णयमा पुगेका छौं । भोलिसम्म टोलीको छिनोफानो हुन्छ । त्यसपछि खेलतालिका सार्वजनिक गर्छौँ । यहीँबाट ए डिभिजन लिग कहिले सुरु हुन्छ भन्ने कुरा थाहा हुन्छ ।’
एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर प्रि-सिजनको महत्वलाई ध्यानमा राख्दै एन्फा टोलीको संख्यालाई बढाउने निर्णयमा पुगेको तर्क गर्छन् ।
‘घरेलु फुटबल नभएको धेरै भइसक्यो । अब त कुन खेलाडीको स्तर कस्तो छ भन्ने पनि थाहा छैन । शीर्ष डिभिजन लिगमा क्लबहरुले च्याम्पियन हुनैका लागि लगानी गरिरहेका हुन्छन् । सहिद स्मारक ए डिभिजन लिगका लागि राष्ट्रिय लिग खेलाडी चिन्ने माध्यम बन्नेछ । यही कारण टोलीको संख्या बढाउने निर्णयमा पुगेका हौं,’ तुलाधरले भने ।
पत्रकार सम्मेलनमार्फत एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–१९ च्याम्पियनसिपको छैटौं संस्करण फागुनमा पोखरामा आयोजना हुने पनि जानकारी गरायो ।
