काठमाडौं । अग्रता जोगाउन नसक्दा काजकिस्तानले पिफा विश्वकप युरोपियन छनोटमा शनिबार बेल्जियमसँग १-१ को बराबरी खेलेको छ ।
यो नितजासँगै सात खेलमा १५ अंक जोडेको बेल्जियम समूह ‘जे’ को शीर्ष स्थानमा छ । काजकिस्तानले आठ खेलबाट आठ अंकका साथ चौथो स्थानमा रहेर छनोट सक्काएको छ ।
अस्ताना एरिनामा घरेलु टोली काजकिस्तानका लागि दास्तन सत्पायेवले गोल गरे । बेल्जियमका लागि हान्स भानाकेनले गोल फर्काए ।
खेलको नवौं मिनेटमा सत्पायेवको गोमार्फत काजकिस्तानले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।
भानकेनले ४८औं मिनेटमा बेल्जियमलाई बराबरीमा ल्याए । उनले टिमोथी कास्टाग्नेको पासलाई पोस्टको दिशा दिए ।
इस्लाम चेस्नोकोभले ७९औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि काजकिस्तान १० खेलाडीमा समेटिएको थियो । बेल्जियमले त्यसको फाइदा उठाउन भने सकेन ।
शनिबारै सम्पन्न अन्य खेलमा टर्कीले बुल्गेरिया, कोसोभोले स्लोभेनिया र अस्ट्रियाले साइप्रसलाई समान २-०, स्पेनले जर्जियालाई ४-०, ग्रिसले स्कटल्यान्डलाई ३-२, स्विट्जरल्यान्डले स्विडेनलाई ४-१, बोस्निया एन्ड हर्जगोभिनियाले रोमानियालाई ३-० तथा वेल्सले लिक्टेनस्टाइनलाई १-० ले पराजित गरे । यसैगरी डेनमार्क र बेलारुसले २-२ को बराबरी खेले ।
