काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि इङ्लिस ब्यमटर जेसन रोयलाई अनुबन्ध गरेको छ ।
पोखराले शनिबार सामाजिक सञ्जालमामार्फत रोयलाई अनुबन्ध गरेको जानकारी दियो ।े
उनी पोखरा भित्रिने पाँचौ विदेशी खेलाडी हुन् । टोलीले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशम, इङ्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।
राेयले ६४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा आठ अर्धशतकसहित १ हजार ५२२ रन बनाएका छन् । यसैगरी उनले समग्रगमा ४१२ टी-ट्वान्टी खेल खेल्दा ६ शतक र ६९ अर्धशतसहित १० हजार ५५४ रन प्रहार गरेका छन् ।
उनीसँग भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, अमेरिका र युएईको फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राख्ने निर्णय गरेको छ ।
गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई अुनबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
