काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार समूह ‘बी’ अन्तर्गत हैरान्स क्लबमाथि ७-२ को रवाफिलो जित हासिल गरेसँगै नव जन जागृति क्लब सेमिफाइनल प्रवेश गर्ने चौथो टिम बन्यो ।
समूह ‘ए’बाट लालिगुँरास एसोसिएसन क्लब र चित्लाङ एफसी अनि समूह ‘बी’बाट काँक्रे बिहार क्लबले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेका थिए ।
प्रतियोगिताको १०औं दिन नव जन जागृतिलाई जित दिलाउन स्ट्राइकर सुजन डंगोलले ह्याट्रिक गोल गरे । त्यस्तै प्रतापसिंह राई र क्रिपाकान्त थारुको नाममा समान एक गोल रह्यो । एक गोल नव जन जागृतिले आत्मघाती उपहारका रुपमा पायो । हैरान्सका लागि विजय डोंग र सामुवेल सुनारको गोल सान्त्वना बन्यो ।
जितसँगै चार खेलमा १० अंक जोड्दै नव जन जागृति अंकतालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । समान अंक भएपनि गोल भिन्नतामा पछि पर्दै काँक्रे बिहार दोस्रो स्थानमा रह्यो ।
दिनको दोस्रो खेलमा काँक्रे बिहारले गाईघाटमाथि ५–३ को सानदार जित हासिल गर्यो । काँक्रे बिहारका लागि अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गरे । त्यस्तै कप्तान आशिष चापागाईँ र गणेश पुलामी मगरको नाममा समान एक गोल रह्यो ।
गाईघाटले दुई पटक अग्रतालाई जोगाउन सकेन । दीवश श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको गाईघाट प्रवीन राईको गोलमा २–१ ले अगाडि बढेको थियो ।
सेमिफाइनलमा नव जन जागृतिले समूह ‘ए’को उप–विजेता चित्लाङसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै काँक्रे बिहारले लालिगुँराससँग खेल्नेछ । लालिगुँरासले चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । दुबै सेमिफाइनल खेलहरु आइतबार हुनेछन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेटअप थियो ।
यस्तो छ फाइनल अंकतालिकाः


