काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै ११ खेलमा २२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल समान खेलबाट १८ अंकका साथ आठौं स्थानमा छ ।
इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरिमी डोकुले गोल गरे ।
खेलको २९औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले म्याथ्युज नुनोको पासलाई सदुपयोग गरे ।
पहिलो हाफको इन्जुरी समयमा गोन्जालेजले टोलीको अग्रता दोब्बर बनाए । यस पटक बर्नान्डो सिल्भाले गोलको अवसर सिर्जना गरेका थिए ।
डोकुले ६३औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । उनले निको ओ’रेलीको पासलाई पोस्टको दिशा दिए ।
लिग अन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेड तथा नटिङघम फरेस्टले लिड्स युनाइटेडलाई समान ३-१ र एस्टन भिल्लाले बर्नमाउथलाई ४-० ले पराजित गरे । यसैगरी किस्टल प्यालेस र ब्राइटन गोलरहित बराबरीमा रोकिए ।
