काठमाडौं । जर्मन बुन्डेसलिगामा साबिक विजेता बार्यन म्युनिखले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
शनिबार बर्लिनस्थित स्टाडियोन अन देर अल्टन फोर्सटेरेइ रंगशालामा सम्पन्न १०औं चरणको खेलमा स्ट्राइकर ह्यारी केनको इन्जुरी समयको गोलमा बार्यनले युनियन बर्लिनसँग अंक खोस्यो ।
निर्धारित समयसम्म बर्लिनले २–१ को अग्रता बनाएको थियो । तर, केनले ९०+(३) मिनेटमा गोल गरेपछि बार्यन आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भयो ।
बर्लिनले सेन्टरब्याक ड्यानिल्हो डोयखीको गोलमार्फत खेलको २७औं मिनेटमा अग्रता लिएको थियो । ३८औं मिनेटमा विंगर लुइज डियाजले बार्यनलाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा डोयखीले फेरि गोल गरेका थिए ।
यो नतिजासँगै शीर्ष स्थानको बार्यनले ६ अंकको स्पष्ट अग्रता बनाएको छ । बार्यनले २८ अंक जोडेको छ । उता बर्लिन १२ अंकसहित १०औं स्थानमा छ ।
