काठमाडौं । हङकङ सुपर सिक्सेस अन्तर्गत बाउल लिगको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग ४३ रनको हार बेहोरेको छ । योसँगै हङकङ सिक्सेसमा नेपालको यात्रा टुंगिएको छ ।
युएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा चार विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सक्यो । नेपालका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले ३१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युएईका लागि मुहम्मद फरुकले दुई विकेट लिए । त्यस्तै निलान्स केस्वानी र साघिर खानको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईका लागि केस्वानीले ५० रन बनाए । त्यस्तै जाहिद अलीले ३० र फरुकले २४ रन बनाए ।
नेपालका लागि रसीद खानले दुई तथा रुपेश सिंह र लोकेश बमले एक–एक विकेट लिए ।
यही खेलमार्फत नेपाली क्रिकेटका भेट्रान खेलाडी शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
