काठमाडौं । सुरुआती ८ खेलबाट ३ अंक जोडेर लिग तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले आफ्नो टोलीलाई रेलिगेसनबाट जोगाउने दाबी गरेका छन् ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लबविरुद्ध १–० को नतिजामा पराजित भएसँगै प्रशिक्षक मिश्रले फ्रेन्ड्सलाई जसरी पनि रेलिगेसनबाट जोगाउने प्रतिक्रिया दिए ।
‘आजको खेल हामीले जित्छौं नै भनेर खेलेका थियौं,’ उनले भने, ‘आफ्नै गल्तिले गर्दा पराजित हुनुपर्यो ।’
रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिएको प्रशिक्षक मिश्रले नयाँ खेलाडीमाथि खराब ट्याकल गर्दा पनि फाउल नदिएको बताए ।
‘आफूले जति भने पनि कसैले सुन्दैन,’ उनले भने, ‘राम्रो खेलाडीलाई छुनै बित्तिकै फाउल दिन्छ, नयाँ खेलाडीमाथि फाउलनै हुँदा पनि दिँदैन ।’
कुल १३ मध्ये ८ खेल सकिँदा अंक तालिकाको पुछारमा रहेको फ्रेन्ड्सलाई रेलिगेसनबाट जसरी पनि जोगाउनेमा आफू विश्वस्त रहेको उनको प्रतिक्रिया थियो ।
‘अझै ५ खेल बाँकी छ, तर म रेलिगेसनबाट जोगाउँछु , जसरी पनि जोगाउँछु मलाई कन्फिडेन्ट छ,’ उनले भने, ‘सबै खेलमा ‘ब्याड लक’ नहोला । ५ मध्ये तीन जित्नैपर्छ । अरुको पनि धेरै अंक छैन । बाँकी खेलमा आजको जस्तै खेल्यौं भने जोगिन्छौं ।’
कठिन चुनौती भए पनि आफ्नो टोली नडराउने प्रशिक्षक मिश्रको प्रतिक्रिया थियो । बाँकी ५ मध्ये दुई खेल जसरी पनि जित्नु पर्ने अवस्थामा फ्रेन्ड्स पुगेको उनले बताए ।