काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेलमा बुधबार भारतको सामना गर्दैछ ।
खेल सिक्किमको पाल्जोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । यो खेलले फिफा अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।
नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन् । यी दुई सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । याे प्रतियोगितामा इरानकाे पनि सहभागिता थियाे ।
इरानसँग ३-० ले पराजित नेपालले भारतलालाई २-१ ले हराएकाे थियाे । भारतविरुद्ध कप्तान सावित्रा भण्डारीको दुई गोल गरेकी थिइन् । बुधबारको खेलमा भने सावित्रा उपलब्ध हुने छैनन् ।
उनी व्यावसायीक फुटबलका लागि अस्ट्रेलिया फर्किइसकेकी छन् । सावित्रा न्युजिल्यान्डको क्लब विलिङ्टन फोनिक्समा आबद्ध छिन् । यो क्लबले अस्ट्रेलियन महिला लिग खेल्ने गर्छ ।
यसैगरी मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिाल तुम्बापो सुब्बाले पनि आजको खेल गुमाउने भएका छन् ।
प्रिति नेपाल फर्किएकी छन् । इत्तिहाद क्लबमा आबद्ध उनी केही दिनपछि व्यावसायीक फुटबलका लागि जोर्डन जाने छिन् ।
यसैगरी अञ्जिला भारतमै भए पनि टोलीसँग सिक्किम गएकी छैनन् । उनले आइ लिग क्लब सेथु एफसीसँग सम्झौता गरेकी छन् ।
नेपाल र भारतबीच हालसम्म १८ खेल भएका छन् । जसमा नेपालले चार जित दर्ता गरेको छ ।
