काठमाडौं। युवा मिडफिल्डर आशिष राई खुट्टाको उपचारका लागि चीन पुगेका छन् ।
गत वर्ष चीनको युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण खेलका क्रममा गम्भीर घाइते भएका युवा मिडफिल्डर आशिष विगत ७ महिनायता सातदोबाटोस्थित एन्फा होस्टलमा बस्दै आएका थिए ।
एन्फाले गत वर्ष देखि सञ्चालमा ल्याएको ‘फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन डिपार्टमेन्ट’मा फिजियोमार्फत चाँडै मैदान फर्किने प्रयासमा समर्पित भइरहँदा आशिषले असार अन्तिम साता सामाजिक संजालमा उचित उपचार नपाएको दुखेसो पोखेका थिए । दुई महिनापछि उनले विशेष उपचार पाउन लागेका हुन् ।
उनको युनान स्पोर्टस ट्रमा स्पेशलाइज्ड अस्पतालमा उपचार हुने एन्फाले जानकारी दिएको छ ।
चीनको युनान प्रान्तीय टोलीविरुद्ध खेलको ३७औं मिनेटमा विपक्षी खेलाडी मोरी मेडलेको हार्ड ट्याकलमा आशिषको खुट्टा भाँचिएको थियो । आशिषलाई स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो । लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो ।
घाइते हुनुअघि आशिषले विभागीय टोली नेपाल पुलिस क्लबको जर्सीमा मोफसलका प्रतियोगिता खेलिरहेका थिए । उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका आशिषले तीन वर्षअघि च्यासल युवा क्लबबाट शीर्ष डिभिजन लिग खेलेका थिए ।
कोरोना महामारीबीच भएको नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा आशिषले काठमाडौं रेजर्सको प्रतिनिधित्व गरेका थिए । त्यतिबेला काठमाडौंले उपाधि जितेको थियो । दोस्रो संस्करणमा उनी स्पोर्टिङ इलाम दी मेचीको जर्सीमा देखिएका थिए ।