काठमाडौं । इटालीले फिफा विश्वकप युरोपियन छनोटमा सोमबार इजरायलविरुद्ध ५-४ को रोमाञ्चक जित निकालेको छ ।
जितसँगै चार खेलमा ९ अंक जोडेको इटाली समूह ‘आइ’ को दोस्रो स्थानमा छ । पराजित इजरायल पाँच खेलबाट समान अंकका साथ तेस्रो स्थानमा छ ।
नागेयरदेइ रंगशालामा इटालीलाई जित दिलाउन मोइस किनले दुई तथा माटिओ पोलिटानो, जियाकोमो रास्पाडोरी र स्यान्ड्रो टोनालीले समान एक गोल गरे । इजरायलका डोर पेरेट्जले दुई गोल गर्दा दुई गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको १६औं मिनेटमा म्यानुएल लोकाटेलीको आत्मघाती गोलमार्फत इजरायलले अग्रता लिएको थियो । किनले ४०औं मिनेटमा इटालीका लागि बराबरीमा गोल फर्काए ।
पेरेट्जले ५२औं मिनेटमा गोल गर्दा इजरायल २१ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै किनले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २ २ को बराबरीमा ल्याए ।
पोलिटानाले ५८औं मिनेटमा इटालीका लागि तेस्र्रो गोल गरे । ८१औं मिनेटमा रास्पाडोरीले गोल गर्दा इटाली ४-२ ले अगाडि बढ्यो ।
इटालियन रक्षक अलेसान्ड्रो बास्टोनीबाट आत्मघाती गोल हुन पुग्दा खेल ४-३ को स्थितीमा आयो । दुई मिनेटपछि नै पेरेट्जले व्यक्तिगत दोस्रो गोल गर्दा इजरायल ४-४ को बराबरीमा आयो ।
इन्जुरी समयमा टोनालीले गोल गर्दै इटालीलाई रोमाञ्चक जित दिलाए ।