काठमाडौं । छहारी युवा क्लबले एन्फा महिला लिग छनोटमा मंगलबार स्टुडेन्ट एफसीविरुद्ध ६-१ को सानदार जित दर्ता गरेको छ ।
लागातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको छहारी समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । छहारीले पहिलो खेलमा एफसी रियलेलाई ३-० ले पराजित गरेको थियो ।
यता पहिलो पराजय बेहोरेको स्टुडेन्ट दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ । यसअघि स्टुडेन्डले सिन्धुपाल्चोक एफसीलाई ३-१ ले हराएको थियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा छहारीलाई जित दिलाउन सुमित्रासिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललिता मण्डल, सानिमामाया लो र दिपा पुनमगरले समान एक गोल गरे । स्टुडेन्डका लागि सविना तामाङले गोल फर्काइन् ।
खेलको १६औं मिनेटमा समित्राको गोलमार्फत छहारीले अग्रता लिएको थियो । ३५औं मिनेटमा अस्मिताले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसको तीन मिनेटपछि नै सुमित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । ५६औं मिनेटमा ललिताले गोल गर्दा छहारीको अग्रता ४-० मा पुग्यो ।
सविनाले ६७औं मिनेटमा स्टुडेन्टका लागि गोल फर्काइन् । सानिमाले ७५ र दिपाले ७६औं मिनेटमा गोल गर्दा छहारीले ६-१ को सानदार जित निकाल्यो ।