काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ ।
पहिलो पटक माथिल्लो उमेर समूहको प्रतियोगिता जित्ने चुनौतीसँगै विक्षिप्त सिनियर टोली र समग्र नेपाली महिला फुटबलको मनोबल फर्काउने जिम्मेवारी बोकेर कलिला किशोरीहरु ढाका पुगेका थिए । तर, यसमा पनि सफलता हात लागेन ।
दुई साताअघि मात्र सिनियर टोलीले एएफसी एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा उज्वेकिस्तानसँग पराजय बेहोरेको थियो । जसका कारण चालिस वर्षदेखि नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख भयो । स्वदेश फर्किँदा सिनियर खेलाडीको अनुहारमा जुन निराशाको भाव थियो, जुनियर खेलाडीको हालत पनि मंगलबार त्यस्तै देखियो ।
दुई साताको बसाई अनि करिब दुई घण्टाको हवाई यात्रापछि मातृभूमिमा पाइला टेकेका चेलीहरुमा देशका लागि पदक जित्न नसकेकोमा पीडाबोध थियो । प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट जितेकी पूर्णिमा राईको प्रतिक्रिया त्यस्तै थियो ।

‘उच्च गोलकर्ताको पुरस्कार जित्छु भनेर सोचेकै थिइँन, च्याम्पियन बन्ने लक्ष्य थियो । फाइनलमा गोल गरेर देशलाई जिताउन मन थियो,’ पूर्णिमाले भनिन्, ‘मैले आफ्नो कर्तव्य पूरा गरेँ जस्तो लाग्छ । तर, टोलीलाई च्याम्पियन बनाउन सकिँन । यसका लागि म सबैसँग माफी माग्छु ।’
सिनियर राष्ट्रिय टोलीकी सदस्य मोसम्मत सागोरिकाको सानदार प्रदर्शनमा बंगलादेशले सोमबार निर्णायक खेलमा नेपालमाथि ४-० को सहज जित हासिल गर्यो । सबै गोल स्ट्राइकर सागोरिकाले गरेकी थिइन् ।
जितसँगै ६ खेलमा स्पष्ट १८ अंक जोड्दै बंगलादेश च्याम्पियन बन्यो । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा बंगलादेशले उपविजेता नेपाललाई ६ अंकले पछाडि पार्यो ।
तीन खेलको प्रतिबन्धपछि फर्किएकी सागोरिकाले नेपाली रक्षापङ्क्तिलाई खेलअवधिभर हम्मे पारिरहिन् ।

नेपालले भने आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न सकेन । बंगलादेशको सामना गर्नु अगाडि नेपालले पाँच खेलमा ३० गोल गरेको थियो । बंगलादेशविरुद्धको पहिलो लेगमा नेपालले तीन गोल खाए पनि दुई गोल फर्काएको थियो ।
तर, निर्णायक खेलमा खेलाडी अस्तव्यस्त देखिए । कप्तान विर्सना चौधरीका अनुसार डिफेन्स र मिडफिल्डमा तालमेल नमिल्दा नेपालले हार बेहोर्नुपरेको हो ।
‘तीन खेलपछि सिम्रन (राई) एक्कासी निर्णायक खेलमा फर्किँदा तालमेल नमिलेको महसुस गरेँ,’ विर्सना भन्छिन्, ‘मिडफिल्ड र डिफेन्समा कम्युनिकेसन ग्याप भयो ।’
प्रतियोगितामा यसपाली नेपाली टोलीको बलियो पक्ष ‘स्ट्राइकिङ लाइन’ थियो । पूर्णिमाकी स्ट्राइकिङ पार्टनर मीना देउवाले ७ गोल आफ्नो नाममा लेखाइन् । पूर्णिमा र मीना दुवैले प्रतियोगितामा दुई–दुई ह्याट्रिक गरे ।

बंगलादेशविरद्ध पहिलो लेगमा २-१ ले पछाडि रहेको अवस्थामा मीनाले नै टोलीलाई बराबरीमा ल्याएकी थिइन् । सोमबार तीन गोलले पछाडि पर्दासम्म पनि कमब्याकको आशा नत्यागेको उनले बताइन् ।
‘हामीले बंगलादेशसँग पहिलो खेलमा दुई गोल फर्काएका थियौं । हिजो तीन गोल हुँदासम्म मलाई ममाथि कन्फिडेन्स थियो, फर्काउन सकिन्छ भन्ने,’ मीनाले सुनाइन्, ‘उपाधि जित्ने लक्ष्य थियो । तर, सफल भएनौं ।’
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रत्येक खेलपछि ‘स्क्वाड रोटेसन’ गरिरहेका थिए । निर्णायक खेलमा पनि गुरुङले नियमित मिडफिल्डर सूशीला केसी र रक्षक सरिता नाथलाई आराम दिएका थिए । यो शिलशीला प्रतियोगिता अवधिभर चल्यो ।
दिन बिराएर खेल्नुपर्ने व्यस्त तालिकाका कारण ‘स्क्वाड रोटेसन’ को बाध्यता आइपरेको गुरुङले तर्क गरे । बंगलादेशविरुद्ध खेलाडीलाई ‘ओभरलोड’ र ‘थकान’ भएका कारण सकारात्मक नतिजा ल्याउन नसकेको उनको निश्कर्ष छ ।

‘हामीसँग प्रत्येक खेलका लागि एक दिनको मात्र ‘ग्याप’ थियो । खेलाडीहरुमा ‘फटिग’को समस्या आउँदा ‘रोटेसन’ गर्नुपर्ने बाध्यता थियो,’ गुरुङले भने, ‘बंगलादेशविरुद्ध खेलाडी थाके ।’
बंगलादेशलाई हराए गोलभिन्नताका आधारमा नेपाल च्याम्पियन बन्ने समीकरण बनेको थियो । ढाकाको सम्भावित जितले नेपाली महिला फुटबलमा लागेको घाउमा थोरै भए पनि मलम लगाउने अनुमान थियो । सिनियर टोलीले पनि यो जितमा सान्त्वना पाउने आश गरेको थियो ।
माथिल्लो उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितालाई सिनियर टोलीको प्रवेशद्वारका रुपमा लिइन्छ । भविष्यका स्टारहरु जन्मिने मञ्च हो, उमेर समूहका प्रतियोगिता ।
सन् २०२७ अथवा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमिठो हारले ठूलो धक्का पुगिसक्यो । नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ मा द्रुत गतिमा अगाडि बढ्ने । यो मिसनमा चाँडै यी कलिला किशोरीहरु जोडिनेछन् ।

आगामी संस्करणसम्म रेनुका नगरकोटी, अञ्जिला तुम्बाप्पो सुब्बा, अनिता बस्नेत, गीता राना, अमृता जैसी, विमला चौधरीजस्ता खेलाडीले नेपाली टोलीको जर्सी लगाउलान-नलगाउलान, यकिनले भन्न सकिन्न ।
तर, मीना, पूर्णिमा, विर्सना, सूशीला केसी, सेनु परियार, सुक्रिया मियाको खेल कौशलले नेपाली टोलीलाई चाँडै भर दिनेछ, त्यसमा दुई मत छैन । यस्तोमा सोमबारको जित नेपाली महिला फुटबलको भावी पुस्तालाई एउटा उर्जाको सारथी बन्न सक्थ्यो ।
तीन साताअघि मात्र बंगलादेश पहिलो पटक एएफसी एसियन कपमा छनोट भएको थियो । छनोट प्रतियोगिताको समूह ‘सी’मा रहेको बंगलादेशले अंकतालिकाको शीर्ष स्थानमा रहँदै आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा स्थान पक्का गरेको थियो । सागोरिका म्यानमारमा सम्पन्न छनोट प्रतियोगिताको सदस्य थिइन् । कप्तान अफेइदा खाँडकरले त सिनियर टोलीकै नेतृत्व सम्हालिसकेकी छन् ।
स्कुल फुटबल हुँदै उमेर समूह अनि राष्ट्रिय टोलीसम्मको ढोका खोलेका खेलाडीको रवाफमा बंगलादेशले छनोट प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहँदै अस्ट्रेलियाको टिकट काटेको हो । सिनियर टोलीबाट खेलिसकेको अनुभवले यु-२० साफको उपाधि जितेको हो । नेपालको अवस्था भने फरक छ ।

‘बंगलादेशको ‘ट्रेनिङ क्याम्प’ लामो थियो । हाम्रो हकमा भने यस्तो हुँदैन । जतिबेला प्रतियोगिताको मिति नजिकिन्छ, हामीलाई बन्द प्रशिक्षणमा बोलाइन्छ,’ पूर्णिमाको बुझाई छ, ‘के थाहा ? हामीले पनि पर्याप्त ट्रेनिङ क्याम्प पाएको भए उपाधि जित्न सक्थ्यौं कि ?’
अब नेपालले यही अगस्टमा भुटानमा हुने एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा सहभागिता जनाउने छ । त्यतिन्जेलका लागि चेलीहरु बन्द प्रशिक्षणमा बस्नेछन् । त्यसपछि उनीहरुको गन्तव्य के हुनेछ, थाहा छैन । के एन्फासँग यी खेलाडीलाई टिकाइराख्न ठोस योजना छ ?