काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा शुक्रबार जावलाखेल युथ क्लबविरुद्ध ३-१ को जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा १३ अंक जोडेको फ्रेन्ड्स तेस्रो स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन आर्यनकाजी थापा, पूर्ण श्रेष्ठ र मन्दीप ढुंगेलले गोल गरे । जावलाखेलका लागि सुमित वाइबाले गोल फर्काए ।
खेलको ३३औं मिनेटमा आर्यनको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै पूर्णले टोलीको अग्रता दोब्बर बनाए ।
मन्दीपले ७०औं मिनेटमा गोल गर्दा फ्रेन्ड्स ३-० ले अगाडि बढ्यो । सुमितले ८१औं मिनेटमा गरेको गोल जावलाखेलका लागि सात्वना बन्यो ।
शुक्रबारै सम्पन्न खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडे ।