रियाल मड्रिड

रियाल मड्रिडमा मिलिटाओको प्रभावः ३९ खेलमा ३ हार

मड्रिड । रियाल मड्रिडका सेन्टर ब्याक एडर मिलिटाओले धेरै शंकालाई चिर्दै बितेको एक वर्षमा आफूलाई महत्त्वपूर्ण सदस्यको रूपमा टोलीमा स्थापित गरेका छन् । एक वर्ष अगाडिसम्म ब्राजिलियन डिफेन्डर मिलिटाओ टोलीमा विरलै मौका पाउने खेलाडीमा पर्थे ।

तर, २०२१ को जनवरी यता रियालमा पाएका हरेक अवसरको फाइदा उठाएर आफूलाई प्रमाणित गरेका मिलिटाओले त्यसपछि फर्केर हेर्नु परेको छैन । एक वर्षअघि मिलिटाओले क्लब छाड्ने चर्चा चुलिएको थियो । तर एक वर्षपछि सयम यसरी फेरिएको छ कि क्लबले उनका लागि नयाँ सम्झौता पत्र तयार गरिरहेको छ । र, मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नजरमा उनी कसैले किन्न नसक्ने खेलाडी बनेका छन् ।

पोर्चुगिज क्लब पोर्टोका पूर्व खेलाडी मिलिटाओको रियाल मड्रिड करियर अप्रिल ३ मा सुरु भयो । त्यसयता क्बलले उत्कृष्ट डिफेन्सिभ कीर्तिमान बनाउँदै उपाधि होडमा फर्किँदा उनी त्यसका अभिन्न अङ्ग बनेका छन् ।

त्यसअघि सम्म रियालबाट २६ खेलमा मात्रै मौका पाएका मिलिटाओले त्यसयता ३९ पटक मैदान उत्रिसकेका छन् । मिलिटाओले खेलेका ३९ मध्ये तीन खेलमा मात्रै रियाल मड्रिड पराजित भएको छ ।

जसको फलस्वरुप अहिले रियाल मड्रिड ८ अंकको स्पष्ट अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा छ । अग्रपंक्तिमा करिम बेन्जिमा र भिनिसियस जुनियरसँगै रक्षापंक्तिमा मिलिटाओ र डेभिड अलावा खेलेका १९ खेलमध्ये रियालले १५ मा जित र तीन खेलमा बराबरी खेलेको छ । रियाल ती १९ मध्ये एक खेल (च्याम्पिन्स लिगमा सेरिफसँग) मात्रै हारेका छ ।