पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार खेलतालिका सार्वजनिक भएको छ ।
आयोजक सहारा क्लब पोखराको आयोजनामा माघ २२ देखि फागुन ३ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक सहारा क्लब, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी) चर्च ब्वाइज युनाइटेड, साबिक विजेता त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब, युकेछन् । बिग्रेड ब्वाइजले र आर्मीले सिधैं क्रमशः पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्ने छन् ।
समूह ‘बी’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ येनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । साबिक उपविजेता थ्री स्टार र ब्ल्याक बुल्सले क्रमशः दोस्रो र चौथो क्वार्टरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको संरक्षकका रूपमा पोखरा उपमहानगरपालिका रहेको छ । यस्तै मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउकै निरन्तरता रहने छ ।
प्रतियोगितामा १ करोड ४२ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालकका लागि खर्च गरिनेछ ।