हेटौंडा । एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताकाे उपाधि नजिक पुगेका छन् ।
पूर्व नेपाल च्याम्पियन रुपेशले २५औं पुरुष राष्ट्रिय बुद्धिचामा आठौं चरणको खेल सकिँदा सिएम नवीन तण्डुकालाई पराजित गर्नु अगाडि पुरुषोत्तम सिलवाल सँग बराबरी खेल खेलेका थिए ।
रौतहटका रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ पर्फोमेन्स गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ वृद्धि गर्न सफल भएका छन्। उनले २०९३ रेटिङबाट खेल प्रारम्भ गरेका थिए ।
हेटौंडामा भइरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान ५.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् ।
मकवानपुरका क्षितिजले २०९१ रेटिङको खेल खेल्दै आफ्नो ६.५ रेटिङ वृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को खेल खेल्दै २२ रेटिङ वृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ पर्फोम गर्दै व्यक्तिगत ३२.८ रेटिङ बढाउन सफल भएका छन् ।
अन्तिम ३ चरणको खेल बाँकी हुदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै तेस्रो स्थानमा छन् । झापाका शुश्रुतले २०४२ रेटिङ पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ वृद्धि गरेका छन् । दोलखाका आशिष फुयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४.५ अंक जोडेर चौथो स्थानमा छन् ।
यसैगरी १०औं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान महिला नेपाल च्याम्पियन च्याम्पियन सिन्दिरा उपाधि रक्षा नजिक पुगेकी छन् । काठमाडौंकी सिन्दिराले ६.५ अंक जोड्ने क्रममा ५ जित र ३ बराबरीको नितजा निकालिन् ।
उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जन समान ६ अंक जोडेका छन्। संयुक्त दोश्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले १ हार, ५ जित र २ खेल बराबरी खेलेकी हुन्। यस्तै एञ्जलले २ हार र ६ जितको नतिजा निकालेकी छन् ।
मोरङकी शान्ति धिमाल ५.५ अंक जोडेर तेस्रो स्थाना रहँदा काठमाडौंकी विनिता कपाली ५ अंकका साथ चौथो स्थानमा छिन् ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार दुई चरणको खेल हुनेछन् ।