काठमाडौं । महावीर स्टडीज एण्ड एथ्लेटिक्स सेन्टर र ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेका छन् ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहीबार महावीरले ओएसिस क्रिकेट एकेडेमी र ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई पराजित गरे ।
दिनको दोस्रो तथा अन्तिम खेलमा महावीरले ओएसिसविरुद्ध १०० रनको फराकिलो जित दर्ता गर्यो । महावीरले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको ओएसिसले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो ।
आएसिसका लागि सुवोध ढुंगानाले अविजित ६२ रनको योगदान गरे । यसैगरी रोशन पुलामीमगरले १९ र ओबामा श्रेष्ठले १४ रन बनाए । महावीरका लागि सोनु देवकोटाले २ तथा राजेश कर्ण र एकेन्द्र बुढाले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको थियो । महावीरका लागि सोनु देवकोटाले सर्वाधिक ७९ रनको योगदान गरे ।
यसैगरी रोविन जोशीले अविजित ७२ र उत्तम थापामगरले ३५ रन बनाए । ओएसिसका लागि निर्जल श्रेष्ठ, अविजित सुनार र निश्चल श्रेष्ठले समान १ विकेट लिए ।
यता दिनको पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन ‘ए’ विरुद्ध ७७ रनको सहज जित निकाल्यो । ग्रेट हिमालयले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको हिमालयन १९ ओभरमा ८३ रनमै समेटियो ।
हिमालयनका लागि दीपक बोहराले ४९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ग्रेट हिमालयका लागि दर्शिल विष्ट र प्रकाश विष्टले समान २ तथा इशान पाण्डेले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो । ग्रेट हिमालयका लागि इशान पाण्डेले सर्वाधिक ७१ रनको योगदान गरे ।
यसैगरी दीपक महतोले अविजित ३८ र राजु सहानीले २३ रन बनाए । हिमालयनका लागि प्रमिश पोख्रेलले ३, सुलभ न्यौपानेले २ तथा दीनेश विष्टले १ विकेट लिए ।