काठमाडौं । उस्मान ख्वाजाको दोहोरो शतक तथा स्टिभ स्मिथ र जोश इङ्लिसको शतकप्रेरित अस्ट्रेलियाले घरेलु टोली श्रीलंकाविरुद्ध पहिलो टेस्टमा बलिया पकड जमाएको छ ।
गले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो दिनको खेल समाप्त हुँदा श्रीलंका ६१० रनले पछाडि छ । अहिले श्रीलंका ४४-३ को स्थितीमा छ ।
श्रीलंकाले यही स्थितीबाट शुक्रबार तेस्रो दिनको सुरुआत गर्नेछ । श्रीलंकका साथ कामिन्दु १३ र दिनेश चन्डिमल ९ रन बनाएर खेलिरहेका छन् ।
त्यसअघि ओशडा फर्नान्डो, दिमुथ करुणारत्ने र एन्जेलो म्याथ्युज समान ७ रन बनाएर पेभेलियन फर्किएका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्च, म्याथ्यु पल कुह्नेम्यान र नाथन लायनले समान १ विकेट लिएका छन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ६५४-६ को स्थितीमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।
अस्ट्रेलियाले ३३०-२ को स्थितीबाट दोस्रो दिनको सुरुआत गरेको थियो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले ३५२ बलमा १६ चौका र १ छक्काको मद्दतले सर्वाधिक २३२ रनको योगदान गरे ।
यसैगरी स्टिभ स्मिथले २५१ बलमा १४१, जोश इङ्लिसले ९४ बलमा १०२, ट्रभिस हेडले ४० बलमा ५७, एलेक्स केरीले अविजित ४६, ब्यु वेबस्टरले २३, मार्नुस लाबुसेनले २० र मिचेल स्टार्चले अविजित १९ रन बनाए ।
श्रीलंकाका लागि जेफ्री भान्डरसे र प्रभाव जयसूर्याले समान ३ विकेट लिए ।