काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रसलाई नियुक्ति गरेको छ ।
रस आफ्नो जीवनसाथीका साथ नेपाल आइसकेका छन् । रस बिहीबार चर्च ब्वाइज क्लब र संकटा क्लबबीचको खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ओर्लिएका थिए । उनले त्यहाँ एन्फा टेकनिकल डाइरेक्टर हरि खड्कासँगै बसेर खेल हेरे । एन्फा स्रोतले जनाकारी गराए अनुसार छिट्टै संघले रसलाई औपचारिक रुपमा घोषणा गर्दैछ ।
रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन् ।
अस्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन् । रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव छ । उनी २०२० देखि २०२३ सम्म कोरियाको मुख्य प्रशिक्षक थिए । त्यस्तै रससँग स्विडिश महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेलाई प्रशिक्षण दिएको अनुभव पनि छ । नेपाली राष्ट्रिय पुरुष टोली आठ महिना यता मुख्य प्रशिक्षकविहीन थियो ।
पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिममा सकिएको थियो । एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले गत मंसिरमा सम्पन्न ताजकिस्तान र अफगानिस्तानसँगको त्रिदेशीय कपमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो । त्यसको दुई महिनापछि एन्फाले नयाँ प्रशिक्षक नियुक्ति गर्न लागेको हो ।
विश्वभरबाट चार सयको आवेदन परेकोमा एन्फाले सुरुमा २० जनाको छनोट गरेको थियो । त्यसपछि २० बाट ५ जना छानिएको थियो । तिनै पाँचबाट रसलाई नियुक्त गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति आइनसकेकोले एन्फाले औपचारिक रुपमा घोषणा गर्न नसकेको हो । एन्फा स्रोतले रसको पारिश्रमिक करिब १०हजार अमेरिकी डलर हुने जानकारी गरायो । ‘कुन कुन शीर्षकमा कसरी मिलाएर पारिश्रमिक दिने भन्नेमा गृहकार्य हुदैछ । त्यसरी गर्दा पाँच हजार पारिश्रमिक देखाउने तयारी छ,’स्रोतले भन्यो ।
एन्फा प्रवक्ता सुरेश शाहले भने प्रशिक्षक नियुक्त भइनसकेको बताए । उनले भने, ‘हामीले सर्ट लिस्ट गरेका पाँचमध्ये रस पनि एक जना हो । एन्फाले उहाँहरुसँग थप केही बुझ्नुपर्ने भएकोले बोलाएको हो । यही सिलसिलामा उहाँ आउनुभएको चाँही हो । तर नियुक्त भइसकेको कुरा साचो होइन । नियुक्त गरेपछि एन्फाले ओपचारिक घोषणा नै गर्छ ।’
वर्तमान अवस्थामा नेपाली महिला टोली पनि प्रशिक्षकविहीन छ । गत कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिप २०२४ मा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिएका थिए । टोलीले यही फेब्रुअरीको तेस्रो साता घरेलु मैदानमा कीर्गिस्तान, म्यानमार र लेबनानसँग फोर नेसन्स कप खेल्दैछ । प्रतियोगिताअघि एन्फाले नयाँ प्रशिक्षक नियुक्ति गरिसक्ने अनुमान गरिएको छ ।