नेपालगन्ज । बाँके जिल्ला फुटबल संघ तथा महिला फुटबल समितिमा मनोनित पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्री र बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले मनोनित भएका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथी खत्रीले बाँकेको फुटबल विकासमा मनोनित सदस्यले योगदान महत्वपुर्ण हुने बताए । ‘नेपालमा खेलाडीलाई टिकाउन कठिन छ । व्यवस्थापनलाई बलियो बनाउन सामुहिक भावनाले काम गर्न सके फुटबलले समाजमा राम्रो सन्देश प्रवाह गर्छ । फुटबल खेल र खेलाडीको विकासमा राज्यको लगानी सहि ढंगले प्रयोग हुनुपर्छ,’ खत्रीले भने ।
बाँके जिल्ला फुटबल संघको गत मंसिर ३० गते बसेको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह-महासचिवमा दिर्घराज आचार्य(कौशल), सरिता थापा शाह र सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरेको थियो ।
यसैगरी संघको गत पुस १५ गते बसेको बैठकले महिला फुटबल समितिको अध्यक्षमा नितु शाह चन्द, वरिष्ठ उपाध्यक्षमा नागिनदेवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरेको थियो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले फुटबलमा योगदान दिएका व्यक्तिलाई संघमा मनोनित गर्न पाउँदा खुसी लागेको बताए । उनले भने ,‘फुटबलको विकासमा योगदान गरेका व्यक्तिलाई हामीले संघमा समेटेको छौं । यसले संघमा निकै उत्साह जागेको छ । फुटबलको विकासमा सबैले मिलेर काम गर्ने हो । मनोनित पदाधिकारीले बाँकेको फुटबल विकासमा थप सक्रिय भएर योगदान दिनुहुनेछ भन्ने विश्वास लिएको छौं ।’
महिला फुटबल समितिकी अध्यक्ष नितु शाह चन्दले संघले दिएको महत्वपुर्ण जिम्मेवारीलाई पुरा गर्ने प्रतिबद्धता जनाइन् । ‘फुटबल खेलाडीको लागि काम गर्ने अवसर दिनु भएकोमा संघलाई धन्यवाद । महिला फुटबललाई चिनाउनको लागि हामी योजना बनाएर काम गर्नेछौं । महिला खेलाडी उत्पादन गर्न अभियान चलाउँछौं,’ चन्दले भनिन् ।
यसैगरी सह-महासचिव दिर्घराज आचार्य (कौशल)ले बाँकेले गर्व गर्न सक्ने काम गर्ने योजनाका साथ अगाडि बढ्नपर्नेमा जोड दिए । ‘फुटबलका क्षेत्रमा थुप्रै काम गर्न सकिन्छ । बाँकेले फुटबलमा नयाँ इतिहास बनाउन सक्छ । त्यसका लागिका एक्लैले काम गरेर सम्भवन छैन । सामुहिक भावनाबाट काम गर्न सक्नुपर्छ,’ आचार्यले भने ।
शनिबार भएको पदभार ग्रहण तथा बधाई कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष गोर्वद्धनसिंह सम्झना, लुम्बिनी प्रदेश फुटबल संघका सदस्य सुरेश श्रीपाठी, मोहनसिंह थापा, पुर्व राष्ट्रिय खेलाडी प्रसिद्धजंग राणा, निजामुद्दिन सिद्धिकी (मुन्ना), सिद्धान्त जंगराणा लगायतको उपस्थिति थियो ।