काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल माघ १ गते विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । सोही दिन दिउँसो १ बजे सुरु हुने खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
आर्मीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ । समूह चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । यसैगरी समूह ‘बी’ मा तेस्रो र चौथो स्थानमा रहेने टोली प्लेअफमा आमने सामने हुनेछन् ।
सुपर चारमा पनि एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको फाइनल माग १२ गते हुनेछ ।