काठमाडौं । युरोपियन फुटबलको सर्वाधिक सफल क्लब रियाल मड्रिडले इङ्लिस महारथी क्लब लिभरपुलका रक्षक ट्रेन्ट एलेक्सेन्डर आर्नोल्डलाई चार वर्षे सम्झौताको प्रस्ताव गरेको छ ।
विभिन्न सञ्चार माध्यमका अनुसार विश्व फुटबलका चर्चित राइट ब्याकमध्येका एक २६ वर्षिय आर्नोल्डलाई भित्र्याउन रियालले अन्तिम तयारी गरिरहेको छ । लिभरपुलसँग आर्नल्डको समझौता यसै सिजनको अन्न्यसँगै सकिँदैछ ।
रियाल यही जनवरी विन्डोमा आर्नोल्डलाई अनुबन्ध गर्न चाहन्छ । तर, लिभरपुलले रियालको यो प्रस्ताव तत्कालका लागि अस्विकार गरेको छ ।
लिभरपुल एकेडेमीका उत्पादन आर्नोल्डले सन् २०१६ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उनले क्लबका लागि २२३ लिग खेलमा १६ गोल गरेका छन् ।
लिभरपुल आर्नोल्डलाई लिएर दीर्घकालीन समाधान चाहन्छ । उता लिभरपुल मोहम्मद सालाह र भर्जिल भान डाइकलाई लिएर पनि गम्भिर छ । यदि लिभरपुल यी तीन स्टार खेलाडीलाई राख्न चाहन्छ भने उसलाई आर्थिक रुपमा पनि गाह्रो पर्ने देखिन्छ ।