काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिग मंगलबार औपचारिक रूपमा समापन भयो । विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि हासिल गर्दा न्युरोड टिम (एनआरटी) र संकटा क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
लिगको ‘मस्ट भ्यालुएबल प्लेयर’ रहे संकटाका मिडफिल्डर कृष्णबहादुर आले । कृष्ण संकटाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको नाममा १५ गोल रह्यो ।
कृष्णकै प्रेरणादायी प्रदर्शनमा संकटाले उपाधिको सपना बुनेको थियो । तर, लिगको दोस्रो चरणमा एनआरटीसँग पराजय बेहोर्दा पुलिसलाई उछिन्दै संकटाको उपाधि जित्ने सपना तुहिएको थियो । च्याम्पियन पुलिस संकटाभन्दा मात्र तीन अंकले अगाडि रह्यो । ‘एनआरटीसँग पराजित भएपछि हामीले उपाधिको आशा मारेका थियौं । पुलिस बलियो पकडका साथ अगाडि बढिसकेको थियो । एनआरटीलाई हराएको भए हामीले अन्य सबै खेल जितेर उपाधि नै उचाल्थ्यौं जस्तो लाग्छ,’ कृष्ण भन्छन् ।
मंगलबार लिगको अन्तिम खेलमा संकटाले एपिएफमाथि ३-१ को पुनरागमन जित हासिल गरेको थियो । जसमा अन्तिम गोल कृष्णले नै गरेका थिए ।
पुलिस र एनआरटीबीचको खेलपछि पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । निर्विकल्प दाबेदार जस्तै देखिएका कृष्णले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते । उनीसँगै पुलिसका कप्तान सुवास बममध्ये एकजनाले यो अवार्ड जित्ने लगभग निश्चित जस्तै थियो । पुलिसलाई च्याम्पियन बनाउन विंगर सुवासले २४ गोल गरेका थिए ।
ललित स्मृति जस्तो प्रतिष्ठित प्रतियोगितामा सर्वोत्कृष्ट चुनिँदा कसको मन खुसी नहुँदो हो ? कृष्ण खुसी थिए । तर, कता कता उनमा लिग जित्न नसकेको पीडा पनि थियो । एनआरटीविरुद्धको त्यो हारले उनलाई पिरोलिरहेको थियो । एनआरटीविरुद्ध संकटाले निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा गोल खाएको थियो । जसका कारण नतिजा २-१ ले एनआरटीको पक्षमा गएको थियो ।
‘हामी आफैं चुकेका हौं । हामीले खानै नहुने गोल खायौं । त्यसैले उपाधि जित्न सकेनौं । सोच त उपाधि उचाल्ने नै थियो । हामीले त्यही अनुसार टोली तयार पारेका थियौंं,’ कृष्णको आँखामा दुःखको भाव झल्कन्छ, ‘पुलिसले उपाधि जितिसकेपछि हामीले दोस्रो स्थानका लागि प्राथना गरेका थियौं । सायद, भाग्य हाम्रो पक्षमै रहेन । खेर, केही छैन ।’
एक खेल अगावै पुलिसले उपाधि सुनिश्चित गरिसकेको थियो ।
कृष्ण उमेर समूहमा नेपाललाई प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । गत सेप्टेम्बरमा भुटानको थिम्पुमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा कृष्णले नेपालको प्रतिनिधित्व गरेका थिए । कृष्ण मुख्य प्रशिक्षक सनोज श्रेष्ठको पहिलो रोजाई नै थिए । समूह चरणको अन्तिम खेलमा कृष्णले भुटानविरुद्ध एक गोल पनि गरेका थिए । सेमिफाइनलमा भारतविरुद्ध ४-२ को हार बेहोर्दै नेपालको यात्रा टुंगिएको थियो ।
मिडफिल्डमा छाउने कृष्ण गोल गर्न निक्कै माहिर छन् । स्ट्राइकरलाई सुन्दर पास मिलाइदिने कृष्णको पहिलो विशेषता हो । उनको दोस्रो विशेषतामा पर्छ लामो दूरीबाट गोल गर्न सक्ने क्षमता । यसपालिको लिगमा कृष्णले १५ मध्ये १० गोल लामो दूरीबाट प्रहार गरेका हुन् । मिडफिल्डर भएर पनि यति धेरै गोल सम्भव भयो कसरी ?
कृष्ण मुसुक्क मुस्कुराउँछन् । अनि भन्छन्,‘मिहिनेतको फल पाए जस्तो लाग्छ । म आफै आश्चर्यमा छु । मैले अहिलेसम्म यति धेरै गोल गरेको थिइन ।’
भविष्यमा फरवार्ड खेल्न मन छ हो? प्रश्न भुइँमा झर्न नपाउँदै कृष्णले भने,‘मैले पहिलेदेखि मिडफिल्ड नै खेल्दै आएको छु । यही नै मेरो फेबरेट पोजिसन हो । भविष्यमा पनि मिडफिल्डबाहेक अन्य पोजिसनमा खेल्दिन जस्तो लाग्छ ।’
कृष्ण फुटबलका लागि पागल छन् । बर्दिबास, महोत्तरी वडा नं ५ मा जन्मेका कृष्ण सानैबाट फुटबल भनेपछि मरिहत्ते गर्थे । उनी फुटबल भनेपछि यतिसम्म क्रेजी थिए की बजारतिर फुटबल देख्यो कि उनलाई किन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । कृष्ण बाल्यकालका याद यसरी साट्छन्,‘मलाई याद नभएको उमेरदेखि नै मैले फुटबललाई रुचाउँथे अरे । बजारमा फुटबलहरु बेचिरहेको हुन्थ्यो । बल किनिदिन जिद्धी गर्थेँ । बल नकिनिदिँदा ह्वाँह्वाँ रुन्थेँ ।’
सानैमा जोडिएको साइनोले उनलाई राष्ट्रियस्तरको खेलाडीसम्म ल्याइपुर्याएको छ । एकचोटी त उनले फुटबलका लागि भनेर हदै पार गरे । दुई हजारको खेलका लागि उनले आठ कक्षाको जिल्लास्तरीय परीक्षा नै दिएनन् ।
यत्तिको फुटबल प्यासनेट खेलाडीको आर्दश चाहिँ को हो ? कृष्ण भन्छन्,‘म सेल्फ मोटिभेटेड हुने मान्छे हुँ । तर, मेरो करिअरलाई सेप दिने व्यक्ति चाहिँ मेरो मामा हुनुहुन्छ ।’
संकटा यु-१८ का गोलकिपर निशान रानामगर कृष्णका मामा पर्छन् । निशान यु-१३ देखि संकटामा आबद्ध छन् । निशानले नै कृष्णलाई संकटा ल्याएका हुन् । ‘मामाले संकटामा खेलाडीको कमी छ, आइज यता भनेपछि म काठमाडौं आएको हुँ । पछि यु-१६ लिग हुँदै उमेर समूहमा नेपालको प्रतिनिधित्व पनि गर्न पाएँ । मेरो यो सफलताको श्रेय म मेरो मामालाई पनि दिन चाहन्छु ।’
कृष्णको अबको लक्ष्य चाँडै सिनियर राष्ट्रिय टोलीमा पर्ने हो । कृष्ण भन्छन्,‘संकटाले रिलीज गर्यो भने ‘बी’ डिभिजन खेल्ने चाहना छ । त्यो भएन भने एनएसएल खेल्ने सपना बुनेको छु । चाँडै नेपालको सिनियर टोलीमा खेल्न मन छ ।’