काठमाडौं । बक्सिङ डेको अवसरमा इङ्लिस प्रिमियर लिगमा बिहिबार राति आठ खेल आयोजना हुँदैछन् ।
तीन दिनको विश्रामपछि प्रिमियर लिगका खेल हुन लागेका हुन् ।
साँझ ६ः१५ बजे सुरु हुने खेलमा म्यानचेष्टर सिटी र एभर्टन प्रतिस्पर्धा गर्दैछन् । घरेलु मैदान इत्तिहादमा हुने खेलमा सिटी दबाबमा छ । पछिल्लो समय कमजोर प्रदर्शनपछि सिटी १७ खेलबाट २७ अंकसहित सातौ स्थानमा छ ।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा टोली इतिहासकै कमजोर अवस्थामा गुज्रिएको छ । ग्वार्डिओलाले यही प्रदर्शनले अर्काे सिजन च्याम्पियन्स लिगबाट बाहिर हुनसक्ने बताएका छन् । यता, एभर्टनको समेत प्रदर्शन लयमा आउन सकेको छैन । टोली १६ अंकसहित १५औं स्थानमा छ ।
राति पौने ९ बजे एकै पटक पाँच खेल हुनेछन् । बर्नामाउथले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । लयमा रहेको चेल्सीले फुलहम, न्युक्यासल युनाइटेडले एष्टन भिल्ला, नटिघंम फोरेष्टले टोटनहम र साउथह्याम्पटनले वेष्ट हम युनाइटेडको सामना गर्नेछन् ।
यस्तै, राति सवाँ ११ बजे सुरु हुने खेलमा उल्भ्सले म्यानचेष्टर युनाइटेडलाई आतिथ्य गर्नेछ । राति पौने २ बजे लिभरपुल र लेस्टर सिटी आमनेसामने हुनेछन् ।
प्रिमियर लिगमा १६ खेलबाट ३९ अंकसहित लिभरपुल पहिलो स्थानमा छ । ३५ अंकको चेल्सी दोस्रो तथा ३३ अंकसहितआर्सनल तेस्रो स्थानमा छन् ।