काठमाडौं । साफ महिला च्याम्पियनसिपको सबैभन्दा सफल टोली को हो ? उत्तर सबैलाई थाहा छ- भारत ।
सबैभन्दा धेरै फाइनल खेल्ने टोली नि ? समर्थकले गर्वका साथ भन्न सक्छन्- नेपाल ।
हो, बुधबार नेपाली महिला टोलीले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध फाइनल खेलिरहँदा नेपाल साफ च्याम्पियनसिप इतिहासकै सबैभन्दा धेरै फाइनल खेल्ने टोली हुनेछ । नेपालको यो छैंटौं फाइनल हो । त्यो भारतभन्दा एक बढि हो । अनि विपक्षी बंगलादेशभन्दा चाँही तीन बढि ।
नेपालले सर्वाधिक फाइनल खेल्ने कीर्तिमानमा नाम लेखाइसकेको छ । पक्कै पनि यो आफैमा गर्व गर्न लायक तथ्यांक हो । तर अब धेरै फाइनल खेल्ने तथ्यांकले नेपाली महिला फुटबलको गतिलाई थेगिरहनु हुँदैन । सक्दैन । अब विगतमा पाँच पटक फाइनल खेल्दा पनि एकै पटक जित्न नसकेको बिडम्बनापूर्ण इतिहासलाई परिवर्तन गर्नु नेपाली महिला टोलीको बाध्यकारी गन्तव्य हो ।
नेपालले पाँच पटक फाइनलमा निराशा भोग्दा तेस्रो पटक फाइनल खेल्ने तयारीमा रहेको बंगलादेशले बरु एक पटक उपाधि चुमिसकेको छ । यस हिसाबमा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोलीको पहिलो नम्बरमा आउँछ भारत अनि दोस्रोमा बंगलादेश । बंगलादेशले गत संस्करण नेपाललाई हराएर च्याम्पियनसिपको उपाधि जितेको थियो । खेल दशरथ रंगशालामै भएको थियो । नतिजा ३-१ ले बंगलादेशको पक्षमा गएको थियो ।
बुधबार दुई वर्षपछि नेपालले फेरि यही मैदानमा उपाधिका लागि त्यही बंगलादेशको चुनौती सामना गर्नेछ । एकहिसाबमा यो गत संस्करणको ‘रि-म्याच’ हुनेछ । जहाँ नेपाललाई हारको बदला लिने मौका पनि छ । नेपाली टोलीले यसलाई कसरी लिएको छ त ?
‘बंगलादेशविरुद्ध बदलाको भावना छैन । हामी त्यतिबेला आफ्नै कमजोरीका कारण हार्यौँ । त्यो एउटा इतिहास भइसक्यो,’ नेपाली कप्तान अन्जिला तुम्बापो सुब्बाले भनिन्, ‘अहिले टोलीको मनोबल उच्च छ । टोलीमा एकता छ । यसपालि जित्छौं ।’
नेपालले बंगलादेशविरुद्ध फाइनलमा बदलाको भावना राख्नु पनि त हुँदैन । यसको कारण हो, नेपाल तीन पटक फाइनलमा यही बदलाको भावनाका साथ मैदान उत्रिएको थियो । तर, मानसिकतामा खेलाडी बलियो नहुँदा टोलीले सँधै हार सामना गर्नुपरेको इतिहास छ । २०१० मा नेपालले पहिलो पटक फाइनल खेलेको थियो । जसमा नेपाल भारतसँग १-० को अन्तरमा पराजित भएको थियो । त्यसपछि नेपालले २०१२, २०१४ अनि २०१९ मा भारतविरुद्ध थप तीन पटक फाइनल खेल खेल्यो । सबैमा नेपाली टोलीको भावना थियो, जसरी पनि भारतलाई हराउनु पर्छ । यी सबै संस्करणमा नेपालसँग बदलाको भावना थियो । तर, तिनैपटक नतिजा नेपालको पक्षमा आएन । प्रत्येक फाइनलमा नेपालले कम्तिमा पनि तीन गोल खायो । २०१४ मा त भारतले हदै पार गर्यो, नेपालको पोस्टमा आधा दर्जन गोल गरेर ।
यही कारण पनि हो, नेपालले बंगलादेशविरुद्ध बदलाका बारेमा सोच्नु हुन्न । तर, जित्नु त पर्यो । लगातार तेस्रो पटक घरेलु समर्थकलाई निराश नबनाउने हो भने नेपालले कसरी खेल्नुपर्छ त ?
अन्जिला हाँस्दै भन्छिन्, ‘हामी जहिल्यै फाइनलमा हारिरहन्छौं । बुधबार नेपाली स्टाइलमै खेलेर जित्छौं । अब पनि नजिते हामीले आउने ५-१० वर्षसम्म उपाधिका बारेमा नसोच्दा पनि हुन्छ ।’
नेपालका मुख्य प्रशिक्षकले प्रतियोगिताको पूर्वसन्ध्या र प्रतियोगिता अवधिभर भन्दै आएको पनि यही नै हो । उनी हरेक खेलपछि भन्ने गर्छन्, ‘हामीले प्रतियोगिता जित्न जति नै प्रयास गरे पनि आखिर जितको मुख्य शुत्र भनेको खेलाडी आफै हो । खेलाडीको मनोविज्ञान हो ।’
गत संस्करण टोलीको सहायक प्रशिक्षक रहेका तामाङले यस्तो पनि भनेका थिए, ‘हाम्रा खेलाडीमा नेतृत्वको असाध्यै कमी छ । त्यही भएर हामीले गत संस्करण बंगलादेशविरुद्ध पराजय बेहोरेका थियौं । हामीले गत संस्करण रक्षापङ्क्तिमा कमजोर त्रुटिहरु गर्यौँ । जसका कारण हामी उपाधिबाट बन्चित भयौं ।’
अहिलेको अवस्था कस्तो छ त टोली को, के यी समस्याहरु निवारण भइसके ? उनको उत्तर थियो, ‘भुटानविरुद्ध हामीलाई यही कुराले निकै गाह्रो भयो । त्यसपछि हामीले यो विषयमा लामै छलफल गर्याैँ । पछि विस्तारै खेलाडीले यसमा सुधार गरे । भारतविरुद्ध हामीले रक्षापङ्क्तिमा निकै राम्रो प्रदर्शन गर्यौँ । त्यसैले अब म रक्षापङ्क्ति र लिडरसिपलाई लिएर विश्वस्त छु । बंगलादेश अँग्रेजी प्रशिक्षकको टोली हो । फाइनलका लागि त्यही अनुसारको योजना बनाएका छौं ।’
दक्षिण एसियामा सबैभन्दा बलियो टोलीका रुपमा प्रस्तुत हुँदै आएको बंगलादेशलाई यसपालि पनि फाइनल पुग्न त्यति गाह्रो भएन । बुधबार बंगली टोलीको एउटै लक्ष्य हुनेछ, आफ्नो लयलाई कायम राख्ने अनि दोस्रो पटक उपाधि जित्ने । यसका लागि टोली कत्तिको तयार छ ?
मुख्य प्रशिक्षक पिटर बटलर भन्छन्, ‘हामीले विभिन्न बाधा अड्चनका बावजुद फाइनलसम्मको यात्रा गरेका छौं । खेलाडीले यसका लागि धेरै मिहिनेत गरेका छन् । नेपालविरुद्ध हामी जसरी खेलिरहेका छौं, त्यसरी नै खेल्नेछौं । तर, फाइनलमा कहिलेकाहीँ चाहेर पनि सुन्दर खेल प्रस्तुत गर्न सकिन्न । फाइनल त्यस्तो खेल हो जहाँ रणनीतिक रुपमा भन्दा पनि व्यवास्थापकीय रुपमा टोली बलियो हुनु आवश्यक छ । कुन कुरालाई कसरी व्यवस्थित गर्ने भन्ने कुराले ठूलो भूमिका खेल्छ । हामी त्यसका लागि तयार छौं ।’
मैदानभित्र सुन्दर खेलमार्फत सफल परिणाम प्राप्त गरिरहेको बंगलादेशी टोली पछिल्लो केही दिन बाह्य कारणले गर्दा विवादमा अल्झिएको छ । जसका कारण फाइनलमा केही असर पर्ने अनुमान गर्न सकिन्छ । भएको के थियो भन्दा, भुटानविरुद्धको सेमिफाइनलअघि कप्तान सवीना खातुनले प्रशिक्षकप्रतिको असन्तुष्टि फेसबुकको वालमा पोखेकी थिइन् । पछि सवीनाले आफ्नो प्रतिक्रियाप्रति माफी माग्दै उक्त स्ट्याटस फेसबुकबाट हटाएकी थिइन् । टोलीका पूर्व प्रशिक्षक गोल्मा रब्बानी छोटोनले सवीनाको स्ट्याटसप्रति प्रतिक्रिया दिएपछि विवाद झन् उत्कर्षमा पुगेको थियो ।
शनिबार सेमिफाइनलको अघिल्लो दिन ३० वर्षीय फरवार्ड सवीनाले टोलीसँग अभ्यास गरिनन् । सवीनाले यसका लागि अस्वस्थताको कारण देखाएकी थिइन् । कप्तान अभ्यासमा नआएपछि बटलरले आफूसँग प्लान ‘बी’ रहेको प्रतिक्रिया दिएका थिए ।
पहिलो दुई खेलमा प्रभावहीन देखिएकी सवीनालाई प्रशिक्षक बटलरले भारतविरुद्ध दोस्रो हाफमा प्रतिस्थापन गरेका थिए । जसका कारण विवाद उत्पन्न भएको थियो । सवीनाले पछि मिडियासँग पूर्व प्रशिक्षक रब्बानीसँग आशिर्वाद समेत लिएको प्रतिक्रिया दिएकी थिइन् । जुन कुरालाई बटलरले राम्रो रुपमा लिएनन् । यद्यपि सेमिफाइनलमा सवीनाले पहिलो रोजाइमै खेलिन् अनि ७-१ को फराकिलो जितमा दुई गोलसमेत गरिन् । जसले यो पनि संकेत दिएको छ की मैदान बाहिरको कुराले बंगलादेशलाई केही पनि असर गर्दैन ।
नेपालले भने सेमिफाइनलमा भारतलाई हराउन नाटकीय लडाइँ लड्नु पर्यो । नेपाली फुटबल इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गरेको थियो । करिब २० हजार हाराहारीका नेपाली समर्थकबीच भारतले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न सकेको थिएन । फाइनलमा पनि यही हाराहारीमा नेपाली दर्शक मैदान ओर्लिने अनुमान गर्न सकिन्छ । बंगलादेश टोली यो कुरालाई लिएर दबाबमा त छैन ?
‘घरेलु समर्थकको डर छैन । टोलीमा केही नयाँ खेलाडी छन्, उनीहरु नर्भस हुन सक्छन् । तर, यो चुनौतीका लागि टोली तयार छ,’ कप्तान सवीना भन्छन् ।
सवीना प्रतियोगिताकम सबैभन्दा अनुभवी खेलाडी हुन् । २०१० को पहिलो संस्करण देखि सवीना नियमित रुपमा बंगाली टोलीसँग छिन् । उनको यो तेस्रो फाइनल हुनेछ । उपाधि कसरी जित्ने सवीनालाई राम्ररी थाहा छ । उनी गत संस्करण सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । आठ गोलका साथ उनी सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।
बंगलादेशले समूह चरणमा पाकिस्तानमाथि १-१ को रोमाञ्चक बराबरी खेलेको थियो । दोस्रो खेलमा बंगलादेशले भारतलाई ३-१ले हराएको थियो । नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिने भुटानसँग दूर्भाग्यजनक बराबरी खेलेको थियो । नेपाली खेलाडीले भुटानको पोस्टमा एक गोल पनि गर्न नसकेको त्यो महिला फुटबलको इतिहासमै पहिलो पटक थियो । दोस्रो खेलमा कमजोर माल्दिभ्समाथि ११-० र तेस्रो खेलमा श्रीलंकामाथि ६-०को जित हासिल गर्दै समूह विजेता बनेर अघि बढेको नेपालले आफूलाई उपाधिको दाबेदारका रुपमा उभ्याएको थियो ।
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् रेखा पौडेल । उनले सात गोल गरेकी छन् । तर, फाइनलमा उनको उपस्थिति हुने छैन । भारतविरुद्ध रेखाले दुई पहेँलो कार्डको सामना गरेकी थिइन् । रेखा नहुँदा टोलीमा कस्तो प्रभाव परेको छ ? प्रशिक्षक तामाङले भन्छन्, ‘हामीसँग पर्फेक्ट ११ छ । हामीसँग सावित्रा (भण्डारी) छ, रश्मी (रश्मीकुमारी घिसिङ) छ ।’
बंगलादेशका लागि महत्वपूर्ण खेलाडी, फरवार्ड समसुनुहार जुनियरले चोटका कारण भुटानविरुद्धको खेल गुमाएकी थिइन् । तर, उनी फाइनलका लागि तयार रहने छिन् ।
नेपाललाई पनि चोटको ताजा समस्या छैन । पहिलो खेलमा रक्षक हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाही गम्भीर घाइते हुँदै प्रतियोगिताबाटै बाहिरिएका थिए । त्यसयता नेपाललाई चोटले सताएको छैन । सेमिफाइनलमा फरवार्ड सवीता रानामगर र रक्षक पूजा राना केही समस्यामा थिए । प्रशिक्षक तामाङका अनुसार उनीहरु अहिले पूर्ण रुपमा फिट छन् ।
साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश चार पटक आमने-सामने भएका छन् । जसमा नेपालले तीन पटक खेल आफ्नो पक्षमा पारेको छ ।
भारतविरुद्ध सेमिफाइनलमा बराबरी गोल फर्काएकी सावित्रा नेपालको हेर्न लायक खेलाडी हुन् । भारतविरुद्धको गोलसँगै उनी नेपालका लागि साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेकी छन् । सावित्रा र पूर्व कप्तान अनु लामाको नाममा २१ गोल छ । फाइनलमा सावित्रालाई अनुको कीर्तिमान भंग गर्ने अवसर पनि छ ।
बंगलादेशका विंगर रितु पोर्ना चक्मा नेपालका लागि खतरा बन्न सक्छन् । जारी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पुरस्कार पाउने सम्भावना बोकेकी रितुलाई रोक्न नेपाली रक्षक विमला विकलाई हम्मे हुने अनुमान छ । रितुबाहेक भुटानविरुद्ध ह्याट्रिक गरेकी फरवार्ड तोहुरा खातुन बंगलादेशको अर्का हेर्न लायक खेलाडी हुन् ।