काठमाडौं । नेपाली फुटबलमा अब सायदै यो घटना दोहोरिने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाका किस्साहरु धेरै छन् । धेरै त रमाइला छन् भने केही पीडादायी । आइतबार दशरथ रंगशाला भित्र घटेको घटना पनि यिनै किस्सामा जोडिनेछन् । यो घटना आउने केही वर्षसम्म सेलाउनेछैन । कम्तिमा पनि अर्को साफ महिला च्याम्पियनसिप सुरु नभएसम्म ।
साफ महिला च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल भिड्दै थियो पाँच पटकको विजेता भारतसँग । भारतविरुद्धको यो खेल हेर्न ओर्लिए करिब २० हजार हाराहारी नेपाली समर्थक । रंगशालाको क्षमता हो, करिब १४ हजार । यस्तोमा प्यारापिटको हालत कस्तो होला । सोच्दा पनि स्वास फेर्न गाह्रो । व्यवस्थापनको अभावका कारण एक दुई हजार दर्शकहरु टिकट नकाटी प्यारापिट प्रवेश गरे । उनीहरु बसे भुइँमा ।
खेल सुरु भयो । पहिलो हाफ गोलरहित समाप्त भयो । दोस्रो हाफको ५२औं मिनेटमा विपक्षी रक्षक चानु सोरोखाइबमलाई फउल गरेपछि फरवार्ड रेखा पौडेलले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको सामना गरिन्। नेपाल १० खेलाडीमा समेटियो । त्यसपछि रंगशालाको माहोल एकाएक परिवर्तन भयो । तैनाथ सुरक्षाकर्मीबीच समर्थकहरुले मैदानभित्र बोतल प्रहार गर्न थाले । बोतल प्रहारपछि सबै एकजुट भएर गर्जिए, ‘रेफ्री आउट रेफ्री आउट ’ । बोतल फाल्ने क्रम रोकिएन । भारतीय फुटबल र नेपाली फुटबलको फरकबारे समर्थक जानकार थिए, त्यसैले उनीहरुलाई लाग्यो, अब सकिन्न । त्यसैले उनीहरु मान्नै तयार भएनन् । स्वयंसेवकहरु बोतल टिप्दै मैदान सफा गर्दै थिए । यो सिलसिला १० मिनेटसम्म चल्यो ।
खेलको ७१औं मिनेटमा भारतका लागि फरवार्ड एनगाङ्गोम बाला देवीको स्थानमा मैदान प्रवेश गरेकी मिडफिल्डर संगीता बाँसफोर करिब २२ यार्डबाट दर्शनीय गोल गर्दै घरेलु समर्थकलाई शान्त पारिन् । गोलपछि भारतका सबै खेलाडी मैदान छाडेर टचलाइनमा खुसीयाली मनाउन गए । त्यसपछि नेपालले त्यही मौकाको फाइदा उठाउँदै खेललाई पुनः सुरु गरे । फरवार्ड सावित्रा भण्डारीको क्विक पासलाई सदुपयोग गर्दै मिडफिल्डर प्रीति राईले ४० यार्डबाट खाली पोस्टमा गोल गरिन् । भुटानी रेफ्री ओम चोकीले प्रीतिको गोललाई मान्यता पनि दिइन् । तर भारतीय अफिसियलको विरोधपछि उनले आफ्नो निर्णय फेरिन् र गोलले मान्यता पाएन । रेफ्रीले बल पुनः चलाउन आग्रह गरिन् ।
खेल सुरु हुनासाथ समर्थकबाट मैदानमा पुनः बोतल प्रहार हुन थाल्यो । उता नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र उनको टोली म्याच कमिस्नर दोर्जी मिन्दु, रेफ्री मूल्याङकनकर्ता मारिया रेबेलो र अन्य निरीक्षण अधिकारीहरुसँग वादविवादमा लागे । त्यसपछि खेलाडी पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल छाड्दै टचलाइन तिर आइपुगे ।
खासमा नेपालको माग के थियो ? फिफाको नियमअनुसार जब विपक्षी टोलीका सबै खेलाडी मैदान छाडेर खुसीयाली मनाउँन जान्छन्, अर्को टोलीले रेफ्रीको ह्वीसलमा खेल सुरु गर्न सक्छ । नेपालको माग पनि त्यही नै थियो । रेफ्रीले सुरु गरिसकेको खेलमा गोल हुँदा, त्यसले किन मान्यता पाएन त ?
छलफल लामै समयसम्म चल्यो । करिब १ घण्टा १५ मिनेटपछि खेल पुनः सुरु भयो । यसबीच निरीक्षण अधिकारीको दुवै टोलीका अफिसियलसँग लामै छलफल भयो । यो समयमा पनि नेपाली समर्थकको बोतल प्रहार गर्ने क्रम रोकिएन । भारतका मुख्य प्रशिक्षक सन्तोषकुमार कस्यप र फोर्थ अफिसियल जया चक्मा समर्थकको प्रहारबाट बच्न सकेनन् । धन्न उनीहरुलाई केही भएन ! भएको भए नि ? सायद माहोलले अर्कै रुप लिने थियो ।
‘हामीले विवाद गरिरहँदा निलम्बनको कुरा आयो । पछि एन्फाका पदाधिकारीसँगको छलफलपछि दर्शकको सम्मान, रेफ्रीको इज्जत, खेलाडीको भविष्यका लागि भनेर हामी खेल खेल्ने निर्णयमा पुग्यौं,’ नेपाली प्रशिक्षक तामाङले पत्रकार सम्मेलनमा सुनाए ।
रोकिएको समयबाट १० मिनेट घटाउँदै खेल दोस्रो पटक सुरु भएको थियो । यो खलबलमा भारतको लयमा केही असर पर्यो । नेपालले भारतमाथि दबाब बढाउन थाल्यो । दोस्रो मिनेटमै प्रीतिको सुन्दर थ्रु पासमा सावित्राले गोलकिपर पान्थोइ अगाडि बढेको मौकाको फाइदा उठाउँदै सनसनीपूर्ण ढंगमा बराबरी गोल फर्काइन् । उनको लोअर प्रहारले दोस्रो बारको लोअर कर्नरको जाली चुमेको थियो । गोलपछि सावित्राले नेपाली फुटबल इतिहासकै आइकोनिक सेलेब्रेसन गरिन् । उनको सेलेब्रेसनले विश्व फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको झलक दिइरहेको थियो ।
सन् २०१८ को एल क्लासिकोमा रोनाल्डोले बार्सिलोनाविरुद्ध आइकोनिक जर्सी सेलेब्रेसन गरेका थिए । सावित्राले पनि त्यही गरिन् । सुरुमा जर्सी फुकालेर फालिन्, अनि सहकर्मीसँग खुसी साटिसकेपछि दर्शकलाई जर्सी देखाइन् ।
‘क्लबको खेल होस् वा राष्ट्रको, म सँधै खेल हुनुअघि रोनाल्डोको भिडियो हेरेर मैदान प्रवेश गर्छु । आज पनि मैले गाडीमा रोनाल्डोको खेल हेरेको थिएँ, ’ सावित्राले भनिन्, ‘सुरुमा जर्सी फुकाल्दा त्यस्तो केही यादै भएन । पछि, जर्सी देखाउँदा आफ्नो आइडल (रोनाल्डो) लाई सम्झेँ ।
खेलमा अन्य गोल भएन । अन्त्यमा खेलको निर्णय पेनाल्टी सुटआउटबाट भयो । पेनाल्टीमा प्रशिक्षक तामाङले दोस्रो रोजाईकी गोलकिपर अन्जना रानामगरलाई विश्वास गरे । अन्जनाले कप्तान अन्जिला तुम्बाप्पो सुब्बालाई प्रतिस्थापन गरिन् । उता भारतले पनि पान्थोइको ठाउँमा वैकल्पिक गोलकिपर पायल रमेश वासुदेलाई विश्वास गर्यो । पेनाल्टी सुटआउटमा नेपालका लागि सावित्रा, गिता राना, सवीता रानामगर र अमिशा कार्कीले गोल गरे । भारतका लागि मनिषा र पुरुषोत्तम श्रीभाइकरले गोल गर्दा कप्तान आशालतादेवी र चानु सोरोखाइबम चुके । सारोखाइबमको प्रहार अन्जानले बचाएकी थिइन् ।
अमिशाको अन्तिम पेनाल्टी प्रहारमा नेपालले भारतलाई लगातार दोस्रो संस्करण पराजित गर्यो ।
साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध चार पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजय बेहोरेको छ । अघिल्लो संस्करण दशरथ रंगशालामा नेपालले पहिलो पटक भारतलाई हराएको थियो । दुई वर्षपछि नेपाली फुटबको इतिहासकै लामो खेलमा पनि महिला टोलीले भारतलाई हराएको छ ।
जितपछि नेपाली टोलले राष्ट्रिय झन्डा बोकेर रंगशालाको चक्कर मारे अनि समर्थकलाई धन्यवाद दिए । भारतीय कप्तान आशालता देवी त्यही समय आँसु पुछ्दै थिए । नेपाली फुटबलमा अमर रहने दृश्य यस्तै यस्तै त हुन् नि ।
बाला देवीको बुटमा सावित्राको चुम्बन
खासमा आइतबारको सेमिफाइनललाई बालादेवीविरुद्ध सावित्राका रुपमा पनि लिइएको थियो । तर, बाला देवी पहिलो हाफको ३६औं मिनेटमै मैदानबाट बाहिरिए । भारतीय फुटबलका सर्वाधिक गोलकर्ता बाला देवी टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले समूह चरणका दुई खेलमा गोल गरेकी थिइन् । नेपालविरुद्ध पनि उनीबाट भारतलाई गोलको आश थियो ।
दक्षिण एसियाली फुटबलमा बालादेवी सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । आइतबारको खेलअघि सावित्रा बाला देवीभन्दा तीन गोलले अगाडि थिइन् । अहिले उनी चार गोलको अग्रतामा पुगेकी छन् । सावित्राको यो ५५औं अन्तर्राष्ट्रिय गोल थियो । सावित्राले समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध पनि गोल गरेकी थिइन् । त्यसैले पनि यी दुई खेलाडीको भिडन्तलाई आकर्षणको केन्द्र मानिएको थियो । तर, खेल सावित्रामय बन्यो ।
खेलपछि सावित्राले बाला देवीलाई अँगालो मारेको दृश्य हेर्न लायकको थियो । पछि सावित्राले बाला देवीको बुट पनि चुम्बन गरिन् । यस्तो किन भने, सावित्रा बाला देवीलाई आइडल मान्छन् । उनले खेलपछि यस्तो प्रतिक्रिया दिए, ‘बाला दिदी उत्प्रेरक र धैर्यवान खेलाडी हुनुहुन्छ । मैले मेरो करिअरमा उहाँबाट धेरै कुरा सिकेँ । दिदी करिअरको अन्त्यतिर हुनुहुन्छ । त्यसैले मैले उहाँलाई अँगालो मारेँ, अनि दाहिने खुट्टाको बुटलाई चुम्बन गरेँ । बाला दिदी मेरो आइडल हुनुहुन्छ ।’
यो लामो अन्तर्राष्ट्रिय खेलको किस्सामा छुट्टाउनै नहुने कुरा हो, सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानलाई बराबरी गरेकी छन् । सावित्रा अनुसँगै नेपालका लागि साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । दुवैको समान २१ गोल छ ।
खेल सकिँदासम्म पनि सावित्रालाई यो कुराको भान थिएन । पत्रकार सम्मेलनमा यो कुरा उठ्दा उनको प्रतिक्रिया यस्तो थियो, ‘यी गोल मेरा सहकर्मीका कारण सम्भव भएका हुन् । मैले फुटबल खेल्दै जाँदा जति पनि गोल गरिहेको छु । यो म एक्लैले गर्दा सम्भव हुने कुरा होइन । खेल्दै जाँदा कीर्तिमान आफैँ बन्दै गएका छन् । कीर्तिमानको पछि कहिल्यै दौडिने छैन ।’
उनको सेलेब्रेसन जस्तै अभिव्यक्ति पनि रोनाल्डोसँगै मेल खान जान्छ । रोनाल्डो पनि भन्ने गर्छन, ‘म कीर्तिमानलाई पछ्याउँदिन, कीर्तिमानले मलाई पछ्याउँछ ।’