काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करणसम्म आइपुग्दा नेपालले अहिलेसम्म कुल २७ खेल खेलेको छ । सबै खेलको आ–आफ्नै महत्व छ । ती सबैले फरक-फरक इतिहास बोकेका छन् । यी खेलहरूमध्ये पनि कतिले अन्तर्राष्ट्रिय डेब्यु पाएका हुनसक्छन् । समर्थकहरू रमेका, खुसीका आँसु झरेका अनि दुःख साटिएका खेलहरू पनि थिए होलान् । यी सबै कुरा मध्यनजर गरेर खेलाडी डटकमले नेपालले खेलेको यादगार ५ खेलको सूची तयार पारेको छ ।
यी हुन् साफ महिला च्याम्पियनसिपमा सम्झिरहने ५ खेल:
१. नेपालविरुद्ध माल्दिभ्स, २०१० (पहिलो संस्करण)
माल्दिभ्सविरुद्धको यो खेल साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल हो । बंगलादेशको कक्स बजार रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोस्टमा ६ गोल गरेको थियो । जवाफमा माल्दिभ्सले नेपालसामु एक गोल पनि फर्काउन सकेन । पहिलो खेलमै ऐतिहासिक जित दिलाउन नेपालका लागि अनु लामाले ह्याट्रिक गरेकी थिइन् । उनले खेलको १३औं मिनेटमा टोलीलाई अग्रतामा दिलाएकी थिइन् । पछि दोस्रो हाफमा उनले २ गोल थपिन् । खेलमा अनुबाहेक जमुना गुरुङले २ र प्रमिला राईले १ गोल गरेका थिए ।
अनुले त्यसपछिका दुई संस्करण पनि खेलिन् । उनको नाममा कुल ३ ह्याट्रिक छ । अनु साफ इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छिन् । उनले कुल २१ गोल गरेकी छन् । जमुनाले पनि श्रीलंकामा भएको दोस्रो संस्करण खेलेकी थिइन् । साफ च्याम्पियनसिपमा उनी सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी हुन् । उनले ४ खेलमा ह्याट्रिक गरेकी छन् । उनी गोलमा भने अनुभन्दा २ गोलले पछि छिन् ।
२. नेपालविरुद्ध अफगानिस्तान (पहिलो संस्करण)
पहिलो संस्करणकै दोस्रो खेलमा नेपालको भेट अफगानिस्तानसँग भएको थियो । जतिबेला अफगानिस्तानको पोस्टमा नेपालले कुल १३ गोल गरेको थियो । साफ इतिहासमा नेपालको यो नै सबैभन्दा फराकिलो जित हो । कक्स बजार रंगशालामा दुई खेलाडीले समान ४ गोल गरेका थिए । ती खेलाडी थिए, अनु लामा र जमुना गुरुङ । यसबाहेक दीपा अधिकारी र प्रमिला राईले २-२ गोल गर्दा एक गोल लक्ष्मी पौडेलको नाममा थियो ।
सोही संस्करणमा नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानमाथि १२-० को फराकिलो जित हासिल पाएको थियो । त्यो खेलमा पनि उनै दुई खेलाडी (अनु र जमुना) चम्किए । दुवैले लगातार दोस्रो खेलमा ३ वा तीनभन्दा बढी गोल गरेका थिए । नेपाललाई च्याम्पियनसिपमा गोलको दुःख छैन । नेपालले अहिलेसम्म कुल १ सय १४ गोल गरिसकेको छ । जुन १९ गोल प्रतिसंस्करण हो ।
३. नेपालविरुद्ध भारत, २०१२ (दोस्रो संस्करण)
पहिलो संस्करणको फाइनलमा भारतसँग १-० को झिनो अन्तरले पराजित भएपछि नेपाल उपाधिबाट विमुख भएको थियो । एक वर्षपछि नेपालसँग बदला लिने सुनौलो अवसर थियो । यसपालि पनि फाइनलमा भारत र नेपाल भिड्दै थिए । श्रीलंकाको राजधानी कोलम्बोस्थित सिलोनेसे रंगशालामा नेपालले दीपा अधिकारीको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । दीपाले खेलको तेस्रो मिनेटमै गोल गरिन् । तर, ५ मिनेटपछि नै भारतले बराबरी गोल फर्कायो । पछि दोस्रो हाफमा दुई गोल थप्दै नेपाल पुनः एकपल्ट उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
यो खेलको अहिले पनि किन चर्चा हुन्छ भने यो त्यस्तो खेल रह्यो, जसमा नेपालले अग्रता लिएर पनि हार ब्यहोर्नुपरेको थियो । साफ इतिहासमा नेपालले अग्रता लिएर खेल गुमाएको यो नै पहिलो र अन्तिम पटक हो । कोलम्बोपछि नेपालले थप तीन संस्करण फाइनलमा पराजय ब्यहोरेको छ । जसमा भारतले दुई पटक र बंगलादेशले एक पटक नेपाललाई हराएका छन् ।
पछिल्लो संस्करण काठमाडौंमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको थियो । दशरथ रंगशालामा बंगलादेशले नेपाली पोस्टमा तीन गोल गरेको थियो । नेपालबाट एकमात्र गोल भएको थियो ।
४. नेपालविरुद्ध श्रीलंका, २०१६ (चौथो संस्करण)
नेपालले अहिलेसम्म दुई आत्मघाती गोलको उपहार पाएको छ । भारतको सिलिगुढीस्थित कञ्चनजंघा रंगशालामा नेपाल तुलनात्मक रूपमा कमजोर श्रीलंकासामु आत्मघाती गोलमार्फत विजयी भएको थियो ।
समूह चरणको खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले हराएको नेपालले तेस्रो खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । यो किन पनि बिर्सन नसक्ने खेल हो भने गोल मेसिन सावित्रा भण्डारीले यसअघि २ खेलमा ११ गोल गरिसकेकी थिइन् । सावित्राले भुटानविरुद्ध ६ र माल्दिभ्सविरुद्ध ५ गोल गरेकी थिइन् । साफ इतिहासमा कुनै एक खेलाडीले विपक्षी पोस्टमा दोहोरो ह्याट्रिक गरेको यो नै पहिलो पटक हो । सावित्रायता कसैले यति धेरै गोल गर्न सकेका छैनन् ।
श्रीलंकाविरुद्धको संघर्ष सम्झिरहने अर्को कारण हो, नेपालविरुद्ध खेल्नुअघि श्रीलंकाले माल्दिभ्सविरुद्ध ५ गोल खाएको थियो । आश्चर्यजनक त नेपालले त्यतिबेला श्रीलंकालाई गोल गर्न नसक्नुको कारण के हो ? श्रीलंकापछि नेपालले सेमिफाइनलमा भारतसँग खेलेको थियो । भारतसँग ३-१ को पराजय बेहोर्दै नेपालको यात्रा टुंगिएको थियो । नेपाल सेमिफाइनलमा रोकिएको यही संस्करणमात्र हो ।
५. नेपालविरुद्ध भारत, २०२२ (छैटौं संस्करण)
प्रीति राईको कटब्याकमा रश्मिकुमारी घिसिङको त्यो गोल । नेपालले गत संस्करण ७ हजार घरेलु समर्थकबीच भारतलाई पराजित गरेको थियो । लगातार ५ खेलमा पराजय बेहोरेको नेपालले अन्ततः भारतलाई १-० गोल अन्तरले स्तब्ध पारेको थियो । यसअघि चार फाइनल र एक सेमिफाइनलमा भारत नेपालमाथि हाबी भएको थियो । भारतलाई हराएको त्यो साँझ नेपाली समर्थकले पाएको अहिलेसम्मकै ठूलो खुसी हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भारतलाई हराएसँगै पहिलो पटक उपाधि जित्ने विश्वास गरिएको थियो । तर, दोस्रो पटक फाइनल खेलिरहेको बंगलादेशसँग नेपाल पराजित हुन पुग्यो । नेपालको पोस्टमा बंगलादेशले तीन गोल गरेको थियो । उता बंगलादेशकी गोलकिपर रुक्मा चक्मा नायक बन्दा नेपालले बंगलादेशको पोस्टमा एकबाहेक थप गोल गर्न सकेन ।