काठमाडौं । नेयमार जुनियरले रियालमड्रिडमा रहेका भिनिसियर जुनियर र रोड्रिगो डी जियसलगायतका आफ्ना ब्राजिली साथीलाई किलियन एमबाप्पेसँग एउटै टिमबाट खेल्नु निक्कै चुनौतीपूर्ण हुने भन्दै सचेत गराएको समाचार सार्वजनिक भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार फ्रान्सेली लिग वानको महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा रहँदा दुई फरवार्ड ब्राजिलका नेयमार र फ्रान्सका एमबाप्पेबीच सम्बन्ध राम्रो थिएन ।
एमबाप्पेको बहुचर्चित सरुवा सम्झौता भएपछि स्पेनिस राजधानीमा भिनिसिय र रोड्रिगोले फ्रान्सेली सुपरस्टारलाई खुला मनले स्वागत गरेका थिए ।
एमबाप्पेको आगमनपछिको सुरुआति समयमा स्टार खेलाडीले भरिपूर्ण रियालको आक्रमणपंक्तिमा समन्वयको समस्या देखिइरहेको छ । जसलाई मिलाउन प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई कठिन भइरहेको बताइन्छ ।
स्पेनिस ला लिगामा सबै तीन फरवार्डले गोल गर्नाका बावजुद आक्रमणको लयमा देखिने गरि समस्या आइरहेका छन् । अधिकांश मुभमा एमबाप्पे र भिनिसियस दुवै मैदानको वायाँ भागमा उही ठाउँमा रुमल्लिइरहेका देखिन्छन् ।
धेरैले एमबाप्पेको विश्वव्यापी स्टारडम र रियालमा भिनिसियसको पोस्टर ब्वायको हैसियतले दुई स्टारबीच इगोको द्वन्द्व हुने अनुमान गरेका थिए ।
अहिलेसम्म भने मैदानमा त्यस्तो गैह्र खेलकुदीय भावना देखिएको छैन । भिनिसियसले निश्वार्थ भावनाले एमबाप्पेलाई दुई पेनाल्टीको अवसरमा प्रहार गर्न दिइसकेका छन् ।
तर नेयमारले आफ्नो देशका खेलाडीहरुलाई एमबाप्पेसँग सचेत रहेर व्यवहार गर्न सुझाएको समाचारहरुमा जनाइएको छ । २०१७ देखि २०२३ सम्म पिएसजीमा रहँदा एमबाप्पे र नेयमार १३६ खेलमा सँगै मैदान उत्रिएका थिए । जहाँ यी दुईको नाममा ५४ गोल भएका थिए ।
हाल नेयमार अल हिलालमा करियर घिसारिरहँदा एमबाप्पे भने सनसनीपूर्ण रुपमा रियाल पुगेका छन् । यसैबीच फ्रान्सेली कप्तान एमबाप्पेसँग खेल्न निक्कै गाह्रो हुने भन्दै नेयमारले भिनिसियर, रोडरिगो र रक्षक इडर मिलिटोलाई सम्झाएको बताइएको छ ।