काठमाडौं । आर्सनलले प्रि-सिजन मैत्रीपूर्ण खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नमाउथलाई सडनडेथमा ५-४ ले पराजित गरेको छ ।
अमेरिकाको डिग्निटी हेल्थ स्पोर्टस क्लबमा बिहीबार निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।
पेनाल्टीमा आर्सनलका लागि मार्टिन ओडेगार्ड, ओलेक्सजान्डर जिनचिन्को, जर्जिन्हो, गाब्रियल जिसस र याकुब किवीओरले गोल गर्दा लियान्द्रो ट्रोर्साडको प्रहार गोलमा परिणत हुन सकेन ।
यता बर्नमाउथका लागि एन्टोइन सिमिन्यो, डन्गो ओउटारा, एडम स्मिथ र ड्यानिल जिवीसनले गोल गर्दा पिलिप बिलिङ र रायन क्रिस्टी भने चुके ।
त्यसअघि आर्सनलका लागि फवियो भिएरा र बर्नमाउथका लागि एन्टोइन सिमिन्याले गोल गरेका थिए । खेलको १८औं मिनेटमा भिएराको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ७३औं मिनेटमा सिमिन्योले खेललाई बराबरीमा ल्याए ।