काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको यही भदौ २९ गते हुने २२औं संस्करणलाई नासा सक्युरिटिजले सेयर ट्रेडिङ पार्टनरका रुपमा सघाउने सम्झौता भएको छ ।
सम्झौताअनुसार नासाले अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई निश्चित रकम प्रायोजन गर्ने एनएसजेएफका महासचिव अञ्जन खड्काले जानकारी गराएका छन् । प्रायोजन रकम भने खुलाइएको छैन ।
खड्काका अनुसार सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासाका प्रवन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् ।
नासाका प्रवन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘खेलाडीहरुलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं,’ पौडेलले भने ।
पहिलो पटक उपत्यकाबाहिर लाने क्रममा यसपाली पोखरामा गर्न लागिएको अवार्डमा विगतजस्तै १० विधा समावेश छन् । एकैथलोमा विभिन्न विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मानित गर्ने क्रममा यसपाली पनि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड समावेश छन् ।