फाल्गुन ३०, २०८२ शनिबार | १६:४१:२२
जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित

पलेशाको सफलतामा नेपाली खेलकुद रमेको दिन

काठमाडौं । बुधबार बिहान साँढे ८ बजे जब पलेशा गोबर्धन त्रिभुवन विमानस्थलको आगमन कक्षबाट बाहिर आइन, उनले मानिसहरुको बाक्लो उपस्थिति देखिन । ओहो ! कत्रो हुल । प्रवेश द्वारमा पाइला टेक्ने बित्तिकै पलेशाको मनमा फुटेका शब्दहरु हुन् यी ।

‘जब म प्रवेश द्वारबाट बाहिर आएँ, मैले मानिसहरु रमाइरहेको देखेँ । एकदमै भिड थियो । जताततै क्यामेराहरु देखेँ,’ हाँस्दै पलेशाले सुनाइन्, ‘हामीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदले बाजा गाजा व्यवस्था गरेको रहेछ । मानिसहरु मेरो खुसीमा रमाइरहेको देख्दा एकप्रकारको आनन्द मिल्ने रहेछ ।’

गत शुक्रबार पेरिस पारा ओलम्पिक २०२४ अन्तर्गत पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले हराएकी थिइन् । पलेशाले आफ्नो करिअरमा थुप्रै खेलाडीलाई हराएकी छन् । तर, मरिजाविरुद्धको त्यो जित पलेशा र नेपाली खेलकुदका लागि खास रह्यो । सन् १९६४ मा टोकियोबाट ओलम्पिक यात्रा गरेको नेपालले २००४ बाट पारा ओलम्पिकमा पनि प्रतिस्पर्धा गर्न थालेको थियो । यस हिसावमा समग्रमा नेपालले ओलम्पिक अभियानमा प्रतिस्पर्धामार्फत सहभागिता जनाउन थालेको ६० वर्ष भइसक्यो । तर पदक चाँही पलेशाले जितेको यही कांस्य पहिलो थियो ।

त्रिभुवन विमानस्थलमा समर्थकबाट घेरिएकी पलेशा गोबर्धन, तस्विरः राखेप ।

बुधबार यही ऐतिहासिक सफलतामा उनका शुभचिन्तक, सहकर्मी, विभिन्न खेलकुद संघका पदाधिकारी र खेलप्रेमीले खुसियाली मनाएका थिए ।

पलेशासहितको तेक्वान्दो टोली बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । साँढे ८ बजे पलेशासहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागतलगत्तै नगर परिक्रमासहित सम्मान गर्यो । विमानस्थलबाट सुरु भएको र्याली गौशाला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिएको थियो ।

नगरपरिक्रमामा रातो टिका, भरिभराउ खादा र सयपत्री मालामा पलेशाको आधाभन्दा बढि अनुहार छोपिएको थियो । पलेशाका आमाबुवा पलेशा सवार गाडीभित्र बसेका थिए । अगाडि बाजा गाजाको टोली थियो । पलेशा मिठो मुस्कानसहित आफूले जितेको कांस्य पदक सबैलाई देखाइरहेकी थिइन् ।

त्रिभुवन विमानस्थलमा पलेशा गोबर्धनलाई स्वागत गर्दै समर्थक, तस्विरः राखेप ।

‘यसरी कुनै पनि खेलाडीलाई नगरपरिक्रमा गरेको मलाई थाहा छैन । मेरो यो पहिलो अनुभव हो । यसरी खेलाडीको जितमा यति धेरै खेलप्रेमीको उपस्थिति हुन्छ भनेर मैले कल्पना पनि गरेको थिइन,’ गदगद हुँदै पलेशाका बुवा प्रदीपले भने, ‘मेरो पहिलो अनुभवमै यसरी मेरी छोरीलाई यसरी सम्मान र बधाईको ओहिरो लाग्दा एकदमै गर्व महसुस भइरहेको छ ।’

करिब एक घण्टाको नगरपरिक्रमा पछि राखेपले आफ्नो प्राङ्गणमा सानो औपचारिक कार्यक्रम राखेको थियो । औपचारिक कार्यक्रममा पलेशा र उनका मुख्य प्रशिक्षक कविराज नेगी लामाले पेरिस यात्रा र सफलताको अनुभव साटे । राखेप सदस्यसचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बधाई मन्तव्य दिएपछि कार्यक्रमको औपचारिक समापन भएको थियो ।

औपचारिक कार्यक्रममा प्रशिक्षक लामाले खेलाडीले मिहिनेत गर्यो भने ओलम्पिकमा नेपालको पनि सम्भावना रहेको बताए । ‘खेलकुद संघको साथ र खेलाडीको मिहिनेतले ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेकी छन्, ’ लामाले भने, ‘पलेशाको पदक पछाडि उनको अथक मिहिनेत र परिवारको बलियो साथ छ ।’

सम्मान कार्यक्रममा पलेशा गोबर्धनसँगै प्रशिक्षक कविराज नेगी लामा, राखेप सदस्यसचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, तस्विरः राखेप ।

राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुदको एउटा सपना बिपनामा परिवर्तन भएको बताउँदै यो सफलताको पछाडि धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । त्यसपछि उनले विधान अनुसार पलेशालले चाँडै नै पुरस्कार पाउने कुरा पनि राखे । ‘हाम्रो सपना पूरा भएको छ । ओलम्पिकमा पाइला चालेको ६ दशकपछि नेपालले पदक पाएको छ । कानुनी रुपमा पाउनुपर्ने ६५ लाख रुपैयाँ नगद पुरस्कार पलेशाले चाँडै नै पाउनेछिन्,’ घिसिङले भने, ‘हामी अब मिसन २०२६ एसियाली खेलकुदमा लागिसकेका छौं । एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य बनाएका छौं ।’

त्यस्तै मन्त्री चौधरीले पलेशा जस्ता खेलाडी र लामा जस्ता प्रशिक्षकलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने विचार राखे । ‘राखेपको ध्यान विदेश भ्रमणमै केन्द्रित छ । आउने दिनमा विदेश भ्रमणलाई पूूर्णविराम लगाएर खेलाडीहरुको भविष्यमा काम गर्न अनुरोध गर्दछु,’ चौधरीले भने, ‘प्रशिक्षक लामाले स्वयम्सेवकका रुपमा यसरी काम गरिरहेको देख्दा दुःख लाग्छ ।’

पलेशाका प्रशिक्षक लामा विगत एक दशकदेखि पारा तेक्वान्दो खेलाडीलाई स्वयम्सेवकका रुपमा प्रशिक्षण गराइरहेका छन् । उनकै नेतृत्वमा देशले कैयौं ठूला उपाधि जितिसकेको छ । आज देशले उनकै नेतृत्वमा ओलम्पिकमा कांस्य पदक हासिल गरेको छ ।

पलेशा गोबर्धनसँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ, तस्विरः राखेप ।

कार्यक्रमको औपचारिक समापनपछि पलेशा र प्रशिक्षक लामा संचारकर्मीबाट घेरिएका थिए । पेरिस पारा ओलम्पिकको अनुभव र पदकको खुसीको बयान गर्न उनीहरुलाई भ्याइनभ्याइ जस्तै थियो । उनीहरुले संचारकर्मीसँग मात्र झण्डै झण्डै एक घण्टा बिताए ।

यसबीच नेपाली खेलकुदको रोलमोडल बनेकी पलेशाले खेलाडी डटकमसँग पेरिस अनुभव र फाइनलको क्षण यसरी साटिन्, ‘कांस्य पदकको भिडन्तमा हामी समान अंकमा दौडिरहेका थियौं । ३० सेकेन्ड जति बाँकी थियो । म एक अंकको अग्रतामा थिएँ । त्यो समय म एकैछिन नर्भस भएको थिएँ । किनभने, तीन वर्ष अगाडि टोकियो ओलम्पिकमा म यही मोडमा चिप्लिएको थिएँ । अनि मेरो हातबाट कांस्य पदक गुमेको थियो । मेरो विपक्षीलाई पनि डर थियो, कतै मैले फेरि अंक ल्याउने त होइन भनेर । पछि उसको आक्रमणलाई मैले डिफेन्स गरेँ । अनि त्यसपछि अंक आउन थाल्यो ।’

टोकियो ओलम्पिकमा पलेशा ऐतिहासिक सफलताबाट एक जित मात्र टाढा थिइन् । जहाँ के–४४ महिला ५८ केजीमुनिको निर्णायक भिडन्तमा चीनकी लि युजीसँग पराजित भएपछि त्यो दुरी तीन वर्ष लामो बन्यो । लि युजी त्यही खेलाडी हुन् जसले यसपाली फ्रान्समा पलेशाकै क्याटागोरीमा स्वर्ण पदक जितिन् ।

पलेशालाई सम्मान गर्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र साह, तस्विरः काठमाडौं महानगरपालिका । 

‘जब मैले कांस्य पदक जितेँ, त्यतिबेला मलाई थाहा नै थिएन । ६४ वर्षसम्म नेपालले पदक ल्याउन सकेको छैन भनेर । पछि बुझ्दै जाँदा पो थाहा भयो मेरो पदकको महत्वका बारेमा,’ पलेशाले सुनाइन्, ‘जब गुरु उफ्रेर मतिर आउनुभयो र देशको झण्डा दिनुभयो, मेरो लामो समयदेखिको प्रतिक्षा पूरा भयो । मैले एकदिन यसरी नै देशको झण्डा बोकेर म्याटमा दौडिने सपना बुनेको थिएँ ।’

देशको नाम विश्वमाझ चिनाएकी पलेशा अबको दुई महिना आराम गर्न चाहन्छिन् । दुई महिनाको आरामपछि उनको पढाई पूरा गर्ने योजना छ । उनी अहिले आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरिरहेकी छिन् । ‘म आराम गर्न चाहन्छु, घरपरिवारसँग समय बिताउन चाहन्छु । अनि चीन जान्छु आफ्नो पढाई पूरा गर्न । चीनमा संघले प्रशिक्षणको व्यवस्था मिलाइदिन्छ भन्ने आस छ ।’

आराम गर्न चाहेकी पलेशा केही समयका लागि फुर्सदिलो हुने छैनन् । बुधबारकै कुरा गरौं, संचारकर्मीलाई एक घण्टा समय दिएलगत्तै उनलाई काठमाडौं महानगरले सम्मानका लागि महानगर भवनमा लगेको थियो । त्यहाँ पलेशा नगद ५ लाख रुपैयाँसहित सम्मानित भइन् । त्यसपछि बुधबारै उनलाई राष्ट्रपतिले सम्मान गरे । यही क्रमले आगामी केही दिन उनी थप व्यस्त हुनेछिन्, वर्षौको मेहनतले फल जो दिएको छ ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||