काठमाडौं । भर्खरै सम्पन्न ट्वान्टी २० विश्वकपमा भारतीय टोलीमा रहेर च्याम्पियन बनेका दुई मध्ये एक क्रिकेटरले इण्डियन प्रिमियर लिग(आइीपएल) को सुरुवाती केही खेलमा सनराइजर्स हैदराबादको लागि कप्तानी गर्ने सम्भावना रहेको छ ।
नियमित कप्तान प्याट कमिन्स उपलब्ध नहुने भए पछि इशान किसन वा अभिषेक शर्माले हैदराबादका लागि सुरुवाती खेलमा कप्तानी गर्ने सम्भावना रहेको हो । फिटनेसका कारण कमिन्सले आइपिएलमा हैदराबादका लागि सुरुवाती केही खेलहरू गुमाउने सम्भावना छ । कमिन्सले चोटका कारण अष्ट्रेलियाको लागि २०२६ एशेज सिरिजका केही खेलपछि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् ।
यद्यपि, यस विषयमा हैदराबादले यस विषयमा अहिलेसम्म केही पुष्टि गरेको छैन । बायाँ हाते ब्याट्सम्यान अभिषेक हाल ट्वान्टी २० ब्याटिङ वरियतामा पहिलो नम्बरमा रहेका छन् । उनले विश्वकपमा न्युजिल्याण्डविरुद्धको फाइनलमा महत्वपूर्ण अर्धशतक बनाएका थिए ।
यसैबीच, हालै सम्पन्न विश्वकपमा भारतको लागि महत्वपूर्ण भूमिका खेलेपछि इशान किशन पनि यस सूचीमा छन् । उनले झारखंडको लागि सैयद मुश्ताक अली ट्रफीमा पनि राम्रो प्रदर्शन गर्दै पहिलो पटक उपाधि जित्न सफल भएको थियो । कमिन्सले केही खेल गुमाएमा हैदराबादको नेतृत्व कसले गर्छ भनेर हेर्न रोचक हुनेछ।
गत वर्ष हैदराबादले १४ खेलबाट केवल ६ जितका साथ छैटौं स्थानमा सिजन समाप्त गरेको थियो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले आफ्नो योग्यता प्रमाणित गर्दै टोलीको सर्वाधिक रन बनाउने खेलाडीको रूपमा समाप्त भए । अर्कोतर्फ, कमिन्सले हर्षल पटेलसँगै टोलीको लागि सबैभन्दा धेरै विकेट लिए।
