काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको तीन एकदिवसीय शृंखला इङ्ल्यान्डले २–१ ले जितेको छ । मंगलबार कोलम्बोमा भएको निर्णायक खेलमा इङ्ल्यान्ड ५३ रनले विजयी भयो ।
यसअघि पहिलो खेलमा घरेलु टोली श्रीलंका १९ रनले विजयी भएको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड ५ विकेटले विजयी हुँदै पुनरामगन गर्न सफल भयो । अब, दुई टोलीबीच फेरी तीन खेलको ट्वान्टी २० शृंखला हुनेछ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ५८ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा ४६.४ ओभरमा अल आउट हुँदा श्रीलंकाले मात्र तीन सय ४ रन बनाउन सक्यो ।
इङ्ल्यान्डको लागि जोय रुटले एक सय ११ तथा कप्तान ह्यारी ब्रुकले एक सय ३६ रन बनाए । ज्याकोव बेथलले ६५ रन जोडे । रुट र ब्रुकबीच अविजित १९१ रनको साझेदारी भएको थियो ।
श्रीलंकाको लागि पाभन रथ्नयाकेले सर्वाधिक एक सय २१ रन बनाएका थिए । पाथुप निसंकाले ५० रन जोडे ।
