काठमाडौं । साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को उपाधि जित्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कप्तान रोहितकुमार पौडेल, रुवेन ट्रम्पलम्यान र शेर मल्लको सानदार बलिङप्रेरित लुम्बिनीले सुदूरपश्चिमलाई सस्तैमा समेट्न सफल भएको हो ।
लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिमका कुनै पनि ब्याटर चल्न सकेन । जसका कारण १९.१ ओभरमा मात्र ८५ रनको योगफल खडा गर्दै सुदूरपश्चिम अल आउट भयो ।
रोहित एनपिएल सिजन २ मा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने । यसअघि काठमाडौं गोर्खाजका शाहब आलमले यो सफलता हासिल गरेका थिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले पनि तीन खेलाडीलाई पवेलियनको बाटो देखाए ।
ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकासहित सर्वाधिक ३३ रन बनाए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले १३ रन बनाउँदा हर्मित सिंह र स्कट कुगुलेइनले १० रनको योगदान गरे ।
