काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि भारतका टिनु योहान्ननलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
लुम्बिनीले शुक्रबार विज्ञप्तिमार्फत योहान्ननलाई प्रशिक्षणको जिम्मेवारी दिएको जानकारी गरायो । पहिलो सिजन नन्दन फडनिस लुम्बिनीको मुख्य प्रशिक्षक थिए ।
केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका योहान्ननले भारतका लागि समान तीन टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् ।
बिहीबार मात्र लुम्बिनीले भारतकै रोबिन सिंहलाई मेन्टरका रूपमा नियुक्त गरेको थियो ।
रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले विवेककुमार यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ ।
यसैगरी गत संस्करण पुछारमा रहेको लुम्बिनीले मिनी अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ताका र आदिल खानलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यो सिजन पनि लुम्बिनीसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र काठमाडौं गोर्खाज उपाधिका लागि भिड्ने छन् ।
