काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा देउराली युथ क्लबले जन जागृति युथ क्लबमाथि ३–१ को पुनरागमन जित हासिल गरेको छ ।
शुक्रबार प्रतियोगिताको तेस्रो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा देउरालीका लागि मिलन लिम्बूले दुई तथा उज्जवल राईले एक गोल गरे । जन जागृतिले पहिलो मिनेटमै शम्भु थारुको गोलमा अग्रता लिएको थियो ।
मिलनले खेलको १०औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित हाफ सकिन एक मिनेट बाँकी रहँदा मिलेनले नै देउरालीलाई अग्रता दिलाए । उज्जवलले ८९औं मिनेटमा गोल गर्दै देउरालीको जित सुनिश्चित गरे ।
प्रतियोगितामा देउरालीको यो पहिलो जित हो । बुधबार उद्घाटन खेलमा देउरालीले चित्लाङ एफसीसँग ४–१ को पराजय बेहोरेको थियो । जन जागृतिको भने यो पहिलो खेल हो ।
शुक्रबार दिनको दोस्रो खेलमा विजयी स्पोर्टस क्लबले चित्लाङको सामना गर्नेछ । विजयी स्पोर्टस पहिलो जितको खोजीमा हुनेछ । विजयी स्पोर्टसले यसअघि लालीगुँरास एसोसिएसन क्लबसँग गोलरहित बराबरी खेलेका थिए ।
