काठमाडौं । भोलिबाट पुनः सुचारु हुने भनिएको एन्फा यु–१६ युथ लिग तत्कालका लागि स्थगित भएको छ ।
गत भदौ २३ गते जेनजी आन्दोलनले विकराल रुप लिँदा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित मैदानमा चलिरहेको यु–१६ युथ लिगसँगै अन्य गतिविधिहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै रोकिएको यो लिग कार्तिक १७ गते (भोलि)बाट पुनः सुचारु भई मंसिर २ गतेसम्म चल्ने कुरा उल्लेख गरेको थियो । तर, नयाँ मितिको पूर्वसन्ध्यामा एन्फाले लिग पुनः स्थगित गरिएको जानकारी गराएको हो ।
‘शीर्ष डिभिजनका क्लबहरुसँग हामीले यसबारे छलफल नै गर्न पाएका छैनौं । त्यसैले हामीले लिगलाई तत्कालका लागि स्थगित गरेका हौं,’ खेलाडी डटकमसँग बोल्दै एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘हामी भोलि २२ गतेका लागि नयाँ मितिको प्रस्ताव अगाडि सार्दै छौं । क्लबहरुले यसमा सहमत हुने हो भने लिग २२ गतेबाट सुचारु हुनेछ ।’
आइतबार एन्फाले टेलिफोन संवादमार्फत शीर्ष डिभिजनका क्लबहरुलाई भोलि दिउँसो २ बजेका लागि बैठकमा बोलाएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगका बारेमा छलफल गर्न बोलाइएको बैठकमा युथ लिगका बारेमा पनि छलफल हुने एन्फाले बताएको छ ।
एन्फाले गत असोज ६ गते पुसको ९ गतेका लागि प्रस्तावित शीर्ष डिभिजन लिग र रोकिएको एन्फा यु–१६ युथ लिगका बारेमा छलफल गर्न पत्रमार्फत १४ क्लबलाई बैठकमा बोलाएको थियो । तर, आवश्यक तयारी नपुगेको कारण देखाउँदै एन्फाले उक्त बैठक स्थगित गरेको थियो । तीन सातापछि एन्फाले पुनः बैठक बोलाएको हो ।
२०औं चरणको समाप्तिमा विभागीय टोली नेपाल पुलिस क्लब ४५ अंक जोड्दै शीर्ष स्थानमा छ । पुलिसलाई ४० अंक जोड्दै दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले पछ्याइरहेको छ । त्यस्तै ३९ अंक जोड्दै मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ ।
