काठमाडौं । बाँकेमा आइतबारबाट फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक सुरुआत भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको कार्यक्रमकाे उद्घाटन सामराेहमा बाँकेका २५ भन्दाबढि विद्यालयका ३००० बालबालिका सहभागिता थिए ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपालगन्ज उप-महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्तरुपमा राष्ट्रिय खेलकुद परिषद्का फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपालगन्ज रंगशालामा सम्पन्न उद्घाटन समारोहमा सहभागी विद्यालयको प्रतिनिधिका रूपमा जुनियर आइनस्टाइन स्कुललाई फुटबल हस्तान्त्रण गरिएको थियो ।
एन्फा अध्यक्ष नेम्वाङले फुटबलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपुर्ण रहेको बताए ।
‘फिफाको अवधारणा अनुसार यो कार्यक्रम १००० भन्दा धेरै विद्यालयमा पुगिसकेको छ । फुटबलले बालबालिकाको मतिष्कमा सकारात्मक प्रभाव पार्छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, यहाँका फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दछु ।’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य शाहीले याे कार्यक्रमले जिल्लामा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने धारणा राखे ।
‘फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटनलाई भव्य बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद । बाँकेबाट फुटबलका नयाँ प्रतिभा उत्पादन गर्न हामीले योजना बनाएर काम गरिरहेको छौं । त्यो अभियानमा फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपुर्ण सावित हुनेछ,’ शाहीले भने ।
नगर प्रमुख विष्टले बाँकेमा जिल्लामा फुटबल संघले गरिरहेको गतिविधिबाट आफु निकै प्रभावित भएको बताउँदै आगामी दिनमा पनि फुटबलको विकासमा उपमहानगरपालिका सहकार्य गरेर अगाडी बढन तयार रहने प्रतिबद्धता जनाए ।
संघले नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुह बालबालिकालाई चार महिनादेखि हप्ताको दुई दिन निःशुल्क प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए ।
नेपालगन्ज रंगशालामा तीन सय बालबालिकाहरुले बिहिबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताए ।
उद्घाटन सामराेहमा एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह, एन्फाका उपाध्यक्ष दाबा लामा, केन्द्रीय सदस्य भरत बुढथापा, मनिष जोशी, मणी विष्ट, ग्रासरुट प्रमुख पंकज शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अनिलराज भण्डारीलगायतको सहभागिता थियो ।
