काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाले प्रभावित बनेको छ । मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार बिहान ९ः३० बजेदेखि सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन ।
वर्षा रोकिएकाे करिब साढे तीन घन्टा भइसके पनि मैदान ओसिलो भएका कारण खेल सुरु हुन नसकेको हो ।
अहिले पिच छोप्न प्रयोग गरेको कभर भने हटाइएको छ । एउटा मात्रै सुपर सापर हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेका पानी हटाउने प्रयास गरिरहेका छन् । आउटफिल्डका केही भागमा अझै पानी जमेका कारण खेल हुने या नहुने अझै अनिश्चित छ।
अम्पयारले १ः३० मा मैदान निरिक्षण गरेपछि नयाँ अपडेट आउने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।
नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका तीन वटै खेल जितेका छन् । नेट रनरेटमा अफगानिस्तान अगाडि छ ।
आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेट रनरेटमा अगाडि रहेकाे अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।