काठमाडौं । रोहित शर्मा र सूर्यकुमार यादवको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार चेन्नई सुपर किंग्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ ।
जितसँगै खेलमा आठ अंक जोडेको मुम्बई छैटौं स्थानमा छ । पराजित चेन्नई समान खेलबाट चार अंकका साथ पुछारमा छ ।
वान्खडे रंगशालामा चेन्नईले प्रस्तुत गरेको १७७ रनको लक्ष्य घरेलु टोली मुम्बईले १५.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो।
मुम्बईका लागि रोहितले ४५ बलमा ६ छक्का चार चौकासहित सहित अविजित ७६ रनको योगदान गरे । यसैगरी सूर्यले ३० बलमा ६ चौका र पाँच छक्काको मदत्तले अविजित ६८ र रायन रिकेल्टनले २४ रन बनाए ।
रोहितले दोस्रो विकेटका लागि सूर्यसँग अविजित ११४ र पहिलो विकेटका लागि रायनसँग ६३ रनको साझेदारी गरेका थिए ।
चेन्नईका लागि एकमात्र विकेट रविन्द्र जडेजाले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेकोथियो ।
चेन्नईका लागि रविन्द्र जडेजाले ३५ बलमा चार चौका र दुई छक्कासहित अविजित ५३ रनको योगदान गरे । यसैगरी शिवम दुबेले ३२ बलमा चार छक्का र दुई चौकाको मद्दतले ५०, आयुष म्हात्रे ३२ र शेख रशिद १९ रन बनाए ।
चौथो विकेटका लागि रविन्द्र र शिवमबीच ७९ रनको साझेदारी भएको थियो ।
मुम्बईका लागि जसप्रीत बुमराहले दुई तथा अश्विनी कुमार, दीपक चहर र मिचेल स्यान्टनरले समान एक विकेट लिए ।