नेपालगञ्ज। लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा सोमबार विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेश फुटबल संघको सामना गर्नेछ । खेल नेपालगञ्ज रंगशालामा दिउँसो ४ बजे हुनेछ ।
यो खेलमार्फत गोलपिकर अञ्जना रानामगरले एपिएफका लागि डेब्यू गर्ने सम्भावना छ । उनी गत महिना मात्रै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेर एपिएफ पुगेकी हुन् ।
यो खेलको विजेताले सेमिफाइनलमा रौटहट जिल्ला फुटबल संघको सामना गर्नेछ । रौटहटले घरेलु टोली बाँके ११ लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन् ।
हरेक खेलका प्लेयर अफ द म्याच र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले बताएको छ । खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट हुनेछ ।