काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
एन्फाले सोमबार सूचना जारी गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो । आवदेन भर्नाका लागि एन्फाले उमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको र कम्तिमा दुई वर्षको अनुभव भएको हुनुपर्ने बताएको छ ।
एन्फाले ने एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो ।
एसिया कप छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छ ।
यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।
साथै पर्फमेन्स एनलाइसिसका लागि पनि आवेदन खुलाएको छ यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ । यस्तै कम्तिमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ ।