प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एक समूह विजेता

धनगढी । लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रदेश एक धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘ए ’को विजेता बनेको छ ।

मंगलबार सम्पन्न खेलमा प्रदेश एकले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ४७ रन मात्र बनायो ।

लुम्बिनीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले बनाएको समान नौ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले तीन, अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिए ।

प्रदेश एककी कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन् ।

समूह ‘ए’ बाट प्रदेश एक समूह विजेता बन्दा लुम्बिनी समूह उपविजेता बन्यो । यस समूहबाट यी दुई टोली यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको प्रदेश एकले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रदेश एकका लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाउँदा काजोल श्रेष्ठले ४० रन बनाइन् । काजोल र अप्सरीले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । त्यस्तै कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् ।

लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट लिए ।