प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

महावीरको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको काठमाडौं छनोटमा महावीर क्लबले विजयी सुरुआतलाई निरन्तरता दिने क्रममा मंगलबार एन्जल्स स्पोर्टस एकेडेमीमाथि ४२ रनको जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा ओपनर रविन जोशी र विभत्सु थापाको अर्धसतकप्रेरित महावीरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार गरेको थियो ।

टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको महावीरका लागि विभत्सुले सर्वाधिक ८२ रनको योगदान गर्दा रविनले ५१ रन जोडे । विभत्सुले ५५ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए । ३२ बल खेलेका रविनले सात चौका र दुई छक्का प्रहार गरे ।

टोलीका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

एन्जल्स स्पोर्टस एकेडेमीका लागि युवराज खत्रीले तीन विकेट लिँदा श्याम त्रिपाठी, दिवस कुँवर, सार्थक धिताल र उपेन्द्र खत्रीले एक/एक विकेट लिए ।

एक सय ७० रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको एन्जल्स स्पोर्टस एकेडेमीले पूरा २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रनमात्र बनाउन सक्यो ।

एन्जल्सका लागि सुरेन्द्र ऐरी र लक्ष्मण कुँवरले अविजित ७५ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । अविजित रहने क्रममा सुरेन्द्रले ३६ तथा लक्ष्मणले २१ रन बनाए । योगेश रावलले २४ तथा आशिष धामी र सार्थक धितालले १५/१५ रनको योगदान गरे ।

महावीरका सुमन उदय र मौसम मण्डलले दुई/दूई तथा ज्योति भण्डारीले एक विकेट लिए ।  

महावीरले सोमबार आफ्नो पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी)माथि सात विकेटको जित हासिल गरेको थियो ।