इङ्लिस प्रिमियर लिग

मैदान बाहिरको बानी सुधार्न ग्रिलिस र फोडिनलाई ग्वार्डिओलाको चेतावनी

लन्डन । इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ज्याक ग्रिलिस र फिल  फोडिनलाई मैदानबाहिरको बानी व्यहोरा सुधार गर्न चेतावनी दिएका छन् ।

आइतबार सिटीले न्युक्यासल युनाइटेडमाथि ४-० को जित हात पार्दा ग्रिलिस र फोडिन दुवैले पहिलो रोजाईमा स्थान बनाउन सकेका थिएनन् । 

गत मंगलबार सिटीले लिडस् युनाइटेडमाथि ७-०को रवाफिलो जित हात पारेपछि उनीहरु दुवै जना नाइट क्लब गएको तस्बिर दी टेलिग्राफमा सार्वजनिक भएको थियो ।

‘म मैदान भित्र र मैदान बाहिर खेलाडीले देखाउने बानी व्यहोरामा विशेष ध्यान दिन्छु’, ग्वार्डिओलाले भने, ‘जब खेलाडीले मैदान बाहिर बानी व्यहोरा भुल्छन्, उनीहरुले टोलीमा स्थान बनाउन सक्दैनन् । त्यसैले खेलाडी आफ्नो खेलमा मात्र केन्द्रित हुनुपर्यो ।’